१९, चैत २०८२
कर्णाली ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) देखि सुरु भएको छ। चैत पहिलो साता हुने भनिएको कक्षा १० को वार्षिक परीक्षा फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको थियो। २३–२४ भदौमा भएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेपछि एसईईको मिति पर सरेको हो।
उच्च शिक्षाको ढोका मानिने एसईईमा यस वर्ष कर्णाली प्रदेशका १० जिल्लाबाट ३८ हजार ३७९ विद्यार्थी सहभागी हुँदैछन्। गत वर्ष कर्णालीबाट ३७ हजार ९११ विद्यार्थीले एसईई दिएका थिए भने २०८१ मा ३८ हजार ९७० र २०८० मा ३५ हजार ८०८ विद्यार्थी सहभागी भएका थिए। यसले कर्णालीमा एसईई दिने विद्यार्थी संख्या क्रमशः बढ्दै गएको देखाउँछ।
शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभर १६१ परीक्षा केन्द्र तोकिएका छन्। शिक्षा विकास निर्देशनालय सुर्खेतका परीक्षा शाखा प्रमुख तथा सूचना अधिकारी खिमप्रसाद ढकालका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति, प्रश्नपत्र र उत्तरपुस्तिका सबै केन्द्रमा पुर्याइसकिएको छ।
उनका अनुसार यस वर्ष कर्णालीबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेडवृद्धितर्फ ६ हजार १२६ विद्यार्थीले एसईई दिनेछन्। जिल्लागत तथ्यांकअनुसार सबैभन्दा धेरै परीक्षार्थी सुर्खेतबाट छन्। प्रदेश राजधानीसमेत रहेकाले सुर्खेतमा शैक्षिक चाप बढी हुने गरेको छ। सुर्खेतका ३४ परीक्षा केन्द्रबाट ९ हजार ७७९ विद्यार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ ७ हजार २९४ र ग्रेडवृद्धितर्फ २ हजार ४८५ छन्।
त्यस्तै, दैलेखका २२ केन्द्रबाट ६ हजार २५३ विद्यार्थी सहभागी हुनेछन्। जाजरकोटका १६ केन्द्रबाट ४ हजार ८१३ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। डोल्पाबाट भने सबैभन्दा कम विद्यार्थी सहभागी हुँदैछन्। यहाँका चार परीक्षा केन्द्रबाट ६ सय ७४ विद्यार्थीले परीक्षा दिनेछन्। मुगुमा नौ केन्द्रबाट १ हजार ५२४, जुम्लामा १४ केन्द्रबाट २ हजार २५५, हुम्लामा सात केन्द्रबाट १ हजार ३००, सल्यानका १९ केन्द्रबाट ४ हजार १४२, रुकुमपश्चिमका १६ केन्द्रबाट ३ हजार ९२२ र कालीकोटका २० केन्द्रबाट ३ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
तीन दिनमै उत्तरपुस्तिका परीक्षण
सरकारले यस वर्षदेखि एसईईको उत्तरपुस्तिका तीन दिनभित्रै परीक्षण गर्ने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको विषयको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने निर्णय गरेको छ।
शिक्षा सचिव चुणामणि पौडेलका अनुसार परीक्षा केन्द्रमै परीक्षण गर्न नसकिने अवस्था आएमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा ल्याएर परीक्षण गरिनेछ। त्यसपछि प्राप्ताङ्क बोर्डमा पठाइने र इन्ट्री तथा रुजु प्रक्रिया पूरा भएपछि नतिजा सार्वजनिक गरिनेछ।
यस वर्ष एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म नतिजा सार्वजनिक हुनेछ। यसपटक देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन्। अघिल्ला वर्षहरूमा उत्तरपुस्तिका अन्तरजिल्ला तथा अन्तरप्रदेशीय रूपमा परीक्षण हुने भएकाले नतिजा आउन करिब दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो। तर यसपटक शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनपछि छिटो नतिजा प्रकाशनका लागि केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको हो।











