कोहलपुरमा निःशुल्क आँखा शिविर: २,६८७ जनाको परीक्षण, ३७३ जनाको मोतिबिन्दु शल्यक्रिया

  • नमस्ते कर्णाली

  • २०, चैत २०८२
    बाँके ।बाँकेको कोहलपुरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्। कोहलपुर नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरबाट २ हजार ६८७ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका हुन्।
    नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृतकुमार रानाका अनुसार चैत ९ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको स्क्रिनिङ शिविरमा १ हजार ५९६ महिला र १ हजार ९१ पुरुष सहभागी भएका थिए।
    परीक्षणका क्रममा ३७३ जनामा मोतिबिन्दु समस्या पहिचान भएपछि उनीहरूको निःशुल्क शल्यक्रिया गरिएको छ। चैत १६ देखि १८ गतेसम्म कोहलपुर नगर अस्पतालमा सञ्चालन गरिएको शल्यक्रियामा २०१ महिला र १७२ पुरुषको सफल उपचार गरिएको रानाले जानकारी दिनुभयो।
    शिविरमा सहभागी सबै नागरिकलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रिया गरिएका बिरामीलाई औषधिसँगै फलफूलसमेत प्रदान गरिएको थियो।
    नगरप्रमुख पूर्णप्रसाद आचार्यले नगरवासीको स्वास्थ्य संरक्षण नगरपालिका प्राथमिकतामा रहेको बताउँदै यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा गत वर्षदेखि नियमित रूपमा आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन हुँदै आएको छ।
    नगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष पनि २ हजार ५०३ जनाको आँखा परीक्षण गरिएको थियो, जसमध्ये ४४२ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो।
    यस वर्षको शिविरमा डा. रिता गुरुङ र डा. सुरेन्द्र यादवको नेतृत्वमा आएको विशेषज्ञ टोलीले आँखा परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरेको जनाएको छ।

  • २० चैत्र २०८२, शुक्रबार ०९:३७ प्रकाशित

  • Nabintech