डुडुवामा २४सै घण्टा सेवा दिने आधारभूत अस्पताल सञ्चालनमा, स्थानीय हर्षित—“अब उपचारका लागि टाढा धाउनुपर्दैन”

  • नमस्ते कर्णाली

  • २६, चैत २०८२
    बाँके ।बाँकेको डुडुवा गाउँपालिकामा पाँच शैय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसी छाएको छ। डुडुवा–२ स्थित बेतहनी स्वास्थ्य केन्द्र अन्तर्गत स्थापना गरिएको उक्त अस्पतालबाट बुधबारदेखि २४सै घण्टा सेवा सुरु भएको हो।
    अस्पताल सञ्चालनसँगै अब सामान्यदेखि आकस्मिक उपचारका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्। “पहिले सानो समस्या हुँदा पनि शहर जानुपर्ने अवस्था थियो, अब गाउँमै सेवा पाउँदा निकै राहत मिलेको छ,” स्थानीय राजेश कुर्मीले खुसी व्यक्त गरे।
    संघीय सरकारको मापदण्डअनुसार निर्माण गरिएको अस्पतालले ग्रामीण क्षेत्रमा सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। अस्पतालमा मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जना स्वास्थ्यकर्मी खटिएका छन्।
    यहाँ आकस्मिक सेवा, प्रयोगशाला, औषधि सेवा, डिजिटल एक्स–रेलगायतका सुविधाहरू उपलब्ध छन्। स्वास्थ्य शाखाका अनुसार विपन्न, गरिब, असहाय तथा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइनेछ भने अन्य सेवाग्राहीले पनि सहुलियत दरमा उपचार पाउनेछन्।
    उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको बताए। उनले आगामी दिनमा अझ स्तरोन्नति गर्दै सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाए।
    डुडुवा गाउँपालिकाले पछिल्लो समय प्रयोगशाला सेवा, एम्बुलेन्स, खोप, प्रसूति सेवा र गाउँघर क्लिनिकमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै आएको छ।
    अस्पताल सञ्चालनसँगै स्थानीयले समयमै उपचार पाउने, खर्च घट्ने र स्वास्थ्य सेवामा सहज पहुँच बढ्ने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारको सुदृढीकरणले समग्र जीवनस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

  • २७ चैत्र २०८२, शुक्रबार ०७:०० प्रकाशित

  • Nabintech