२८, चैत २०८२
बाँके ।डिभिजन वन कार्यालय बाँकेले वर्षौँदेखि कार्यालय परिसरमा थन्किएर रहेका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र काठका गोलिया लिलाम बिक्री गरी उल्लेखनीय राजस्व संकलन गरेको छ। लामो समयदेखि प्रयोगविहीन र व्यवस्थापनविहीन अवस्थामा रहेका यस्ता सामग्रीको उचित व्यवस्थापन गर्दै कार्यालयले सरकारको खातामा ४२ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न सफल भएको हो।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएका तथा कार्यालय परिसरमा वर्षौँदेखि थन्किएका ११९ थान विभिन्न कम्पनीका जिर्ण साइकल तथा २५०१.९३ क्यू फिट खयर, साल, सागौनलगायतका काठ गोलिया लिलाम प्रक्रियामार्फत बिक्री गरिएको हो। उहाँका अनुसार उक्त लिलामबाट भ्याटबाहेक ४२ लाख ८६ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
यस रकममध्ये साइकल बिक्रीबाट ७९ हजार रुपैयाँ प्राप्त भएको छ भने काठ बिक्रीबाट मात्रै ४२ लाख ७ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको छ। कार्यालयका अनुसार लामो समयदेखि थन्किएका सामग्रीलाई लिलाम प्रक्रियामार्फत व्यवस्थापन गर्दा एकातर्फ सरकारी राजस्वमा वृद्धि भएको छ भने अर्कोतर्फ कार्यालय परिसर पनि व्यवस्थित बन्न पुगेको छ।
सिनियर डिभिजनल वन अधिकृत गुप्ताले कार्यालय परिसरमा यस्ता पुराना तथा जिर्ण सामग्रीको थुप्रो लाग्दा वातावरणीय तथा सुरक्षाजन्य समस्या समेत सिर्जना हुने गरेको उल्लेख गर्दै अब यस्तो व्यवस्थापन कार्यलाई अन्य सब डिभिजन वन कार्यालयसम्म विस्तार गरिने योजना रहेको जानकारी दिनुभयो। “यसले कुहिने, नष्ट हुने सामग्रीको सदुपयोग हुनुका साथै राजस्व वृद्धि गर्न सहयोग पुग्छ,” उहाँले भन्नुभयो।
कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत टङ्क गुरुङका अनुसार लिलाम बिक्रीबाट प्राप्त सम्पूर्ण रकम प्रदेश सरकारको सञ्चिति कोषमा जम्मा भइसकेको छ। उहाँले हाल थप ९२२ क्यू फिट विभिन्न जातका चिरान काठ पनि लिलाम प्रक्रियामा रहेको जानकारी दिनुभयो।
कार्यालय परिसरमा लामो समयदेखि थन्किएका साइकल तथा काठका कारण झाडी बढ्ने, सर्प तथा अन्य जङ्गली जनावरको जोखिम बढ्ने समस्या देखिएको थियो। लिलाम प्रक्रिया सम्पन्न भएपछि ती समस्या हट्दै गएको र परिसरको सरसफाइ तथा सौन्दर्यीकरणमा उल्लेखनीय सुधार आएको कार्यालयले जनाएको छ।
यसैबीच, डिभिजन वन कार्यालय बाँकेमा पछिल्लो समय व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासका कामहरूमा समेत तीव्रता आएको छ। वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार कार्यालय प्रमुखका रूपमा शङ्करप्रसाद गुप्ता आएपछि राजस्व संकलन, स्रोत व्यवस्थापन तथा कार्यालय सुधारका कार्यहरूमा उल्लेखनीय प्रगति भएको छ।
वन व्यवस्थापनतर्फ पनि कार्यालय सक्रिय देखिएको छ। सुवेदीका अनुसार राप्तीसोनारी गाउँपालिका–१, ३ र ४ मा २७०० हेक्टर क्षेत्रफलमा भुवरभवानी चक्ला वन व्यवस्थापन गरिएको छ। यसअघि जिल्लामा २२६८ हेक्टर क्षेत्रफलमा शमशेरगञ्ज–माथेवास चक्ला वन सञ्चालनमा रहेको थियो। यसले वन संरक्षणसँगै दिगो उपयोगमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो एक वर्षमा कार्यालयले भौतिक संरचना विकासमा समेत उल्लेखनीय प्रगति गरेको छ। कार्यालय परिसरमा बाउन्ड्री वाल निर्माण, वन्यजन्तु तथा वन संरक्षणसम्बन्धी जनचेतनामूलक सन्देशसहितको चित्राङ्कन, नयाँ प्रवेशद्वार निर्माण लगायतका काम सम्पन्न भएका छन्। साथै करिब ५ करोड रुपैयाँको लागतमा तीन तले प्रशासनिक भवन निर्माणाधीन अवस्थामा रहेको छ भने अग्नि नियन्त्रणका लागि आवश्यक सवारी साधनको समेत व्यवस्था गरिएको छ।
हाल बाँके जिल्लामा ११९ वटा सामुदायिक वन रहेका छन्, जसले कुल २६ हजार ११६ हेक्टर क्षेत्रफल ओगटेका छन्। तीमध्ये ३५ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ भने दुई वटा सरकारी चक्ला वन पनि सञ्चालनमा रहेका छन्।
डिभिजन वन कार्यालय बाँकेले लिलाम प्रक्रियामार्फत पुराना तथा अवैध सामग्रीको व्यवस्थापन गर्दै राजस्व वृद्धि र वातावरणीय सुधार दुवै पक्षमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। यस कदमले अन्य कार्यालयहरूलाई समेत यस्ता सामग्रीको व्यवस्थापनमा सक्रिय हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।










