२९, चैत २०८२
कपिलवस्तु ।कपिलवस्तु नगरपालिका स्थित श्री कनकमुनि माध्यमिक विद्यालयले शुक्रबार एक औपचारिक समारोहका बीच वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका सदस्य जनार्दन वारीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा समाजसेवी एवं बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष ललित गुरुङ, अब्दुल सत्कार खान तथा शिक्षक–अभिभावक संघका निवर्तमान अध्यक्ष जयप्रकाश यादवको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मन्तव्य राख्दै सभाध्यक्ष वारीले पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार हुँदै गएको बताउनुभयो। उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासलाई थप मजबुत बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याउँदै विद्यार्थीहरूलाई नियमित विद्यालय उपस्थित हुन र अनुशासनमा रहन अभिभावक तथा शिक्षकको संयुक्त भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर खत्रीले विद्यालयले मात्र चाहेर शैक्षिक सुधार सम्भव नहुने स्पष्ट पार्दै अभिभावक, शिक्षक र विद्यार्थीको साझा प्रयास अपरिहार्य हुने बताउनुभयो। उहाँले कक्षा १२ सम्म अध्ययनलाई निरन्तरता दिन आग्रह गर्दै विद्यालयले जीवनोपयोगी सीप, नैतिक शिक्षा तथा संस्कारयुक्त शिक्षामा विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो। “संस्कार बिना शिक्षाको कुनै अर्थ हुँदैन, त्यसैले घरपरिवारले पनि बालबालिकालाई राम्रो आचरण सिकाउनुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रमका क्रममा कक्षा १ देखि ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउन तथा नियमित उपस्थिति सुनिश्चित गर्न विभिन्न विधामा समेत सम्मान गरिएको विद्यालयले जनाएको छ। सबैभन्दा बढी हाजिरी हुने, सरसफाइमा उत्कृष्ट, परियोजना कार्यमा उत्कृष्ट अंक ल्याउने तथा अनुशासित विद्यार्थीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो।

साथै कक्षा १–५ र ६–९ का उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयस्तरीय प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कार प्राप्त गरेका विद्यार्थीहरूले आफूहरू थप उत्साहित भएको र आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

यसैबीच, विद्यालयका सहायक प्रधानाध्यापक बन्शिधर हलुवाईले पुरस्कृत विद्यार्थीहरूलाई बधाई दिँदै अन्य विद्यार्थीहरूलाई पनि उनीहरूबाट प्रेरणा लिन आग्रह गर्नुभयो। उहाँले “अरूको सफलता देखेर आफू पनि त्यही स्थानमा पुग्ने लक्ष्य राखेर निरन्तर मेहनत गर्नुपर्छ, शिक्षा बिना कुनै पनि उपलब्धि सम्भव छैन,” भन्दै अध्ययनप्रति गम्भीर हुन विद्यार्थीहरूलाई सुझाव दिनुभयो।

कार्यक्रम सञ्चालन बलबहादुर खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य सिर्जना खत्रीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागितासँगै सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

विद्यालयले आगामी शैक्षिक सत्रका लागि वैशाख १५ गतेदेखि नयाँ भर्ना सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने जानकारी पनि दिएको छ।












