अमेरिकाबाट ७ लाख सहयोग, खजुरा गोल्डकपमा प्रवासीको साथ

  • नमस्ते कर्णाली

  • ४, बैशाख २०८३

    बाँके ।बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँस्थित मिनी रंगशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताका लागि एक व्यक्तिले सात लाख रुपैयाँ नगद सहयोग गरेका छन्।

    वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले प्रतियोगिता सञ्चालनका लागि व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले सहयोग रकम प्राप्त भएको जानकारी दिनुभयो।

    थापाले आफ्ना पिता स्वर्गीय गजबहादुर सिजालीको स्मृतिमा क्लबलाई सहयोग गरेको बताउँदै गाउँस्तरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागितासहित प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्नुभयो। “क्लबले गरेको प्रयासमा सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ,” उहाँले भन्नुभयो।

    अमेरिकाबाट पठाइएको उक्त रकम थापाका दाजु बालवीर थापा लगायत परिवारका सदस्यहरूले क्लब अध्यक्ष खत्रीलाई हस्तान्तरण गरेका हुन्।

    स्वर्गीय गजबहादुर सिजाली न्यू डाँफे स्पोर्ट्स क्लबका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो। क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

    प्रतियोगिता सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद् तथा एमटी एरिना लगायत विभिन्न निकायबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ।

    थापा १८ वर्षअघि डिभी परेर ३३ वर्षको उमेरमा अमेरिका जानुभएको थियो। उहाँले हालसम्म विपन्न समुदायका लागि करिब १० करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेको बताउनुभएको छ।

  • ४ बैशाख २०८३, शुक्रबार ०६:३३ प्रकाशित

  • Nabintech