बाँकेमा बाल कुपोषण बढ्दो, तीन वर्षमै उल्लेख्य वृद्धि

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    ४, बैशाख २०८२
    बाँके ।बाँकेमा बालबालिकामा कुपोषणको समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको छ। पछिल्ला तीन आर्थिक वर्षका विवरणले कडा तथा मध्यम कुपोषणका बिरामी निरन्तर बढ्दै गएको संकेत दिएका छन्। स्वास्थ्यकर्मीले विशेषगरी किशोरी अवस्थादेखि नै पोषणमा ध्यान नदिए समस्या अझ जटिल बन्दै जाने चेतावनी दिएका छन्।
    स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४४२ बालबालिकामा कडा कुपोषण देखिएको थियो भने २०८१/८२ मा यो संख्या बढेर ५५८ पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामै ३२८ बालबालिकामा कडा कुपोषण पुष्टि भइसकेको छ। त्यस्तै मध्यम तथा कडा कुपोषणका बिरामी पनि बढ्दो क्रममा छन्। २०८०/८१ मा १०६, २०८१/८२ मा २१३ र चालु वर्षको ८ महिनामै ८९६ बालबालिकामा यस्तो समस्या देखिएको छ।
    स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लका अनुसार किशोरी अवस्थादेखि नै पोषणको कमी हुनु कुपोषणको मुख्य कारण बनेको छ। कम उमेरमै गर्भधारण गर्नु, कम तौल र रक्तअल्पताबाट ग्रसित किशोरीबाट जन्मिने शिशुमा कुपोषणको जोखिम उच्च हुने गरेको उनले बताइन्।
    नेपालगञ्जस्थित भेरी अस्पतालको कुपोषण पुनःस्थापना केन्द्रमा बाँकेसँगै बर्दिया, सुर्खेत, जाजरकोट र दाङबाट समेत कुपोषित बालबालिका उपचारका लागि आउने गरेका छन्। अस्पतालका अनुसार नेपालगञ्ज उपमहानगरपालिका भन्दा गाउँपालिकाहरूमा कुपोषणको समस्या बढी देखिएको छ।
    राप्तीसोनारी गाउँपालिकाकी टीका केसी आफ्नी ६ महिनाकी छोरीको कम तौलका कारण उक्त केन्द्रमा उपचार गराइरहेकी छन्। उपचारपछि छोरीको तौल केही बढे पनि अझै केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको उनले बताइन्। यस्तै, बाँकेको बनकटवाकी निर्मला यादव पनि आफ्नी ७ महिनाकी छोरीको उपचारका लागि केन्द्रमा पुगेकी छन्।
    किशोरीमा देखिएको रक्तअल्पता पनि कुपोषणको प्रमुख कारणका रूपमा देखिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म गरिएको परीक्षणअनुसार ०.४ प्रतिशत किशोरीमा ८ पिन्टभन्दा कम रगत पाइएको छ भने १९ प्रतिशत किशोरीमा ८ देखि ११ पिन्ट मात्रै रगत देखिएको छ, जबकि सामान्यतया १२ पिन्ट हुनुपर्ने मानिन्छ।
    भेरी अस्पताल बाँकेकी स्टाफ नर्स सरस्वती शर्माका अनुसार देशभरका ७७ जिल्लामध्ये बाँकेमा कडा कुपोषणका बिरामीको संख्या उच्च रहेको छ। उनले कुपोषण न्यूनीकरणका लागि बालबालिकासँगै आमाको पोषण र स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
    कुपोषण नियन्त्रणका लागि स्वास्थ्य निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। सानै उमेरदेखि पोषणयुक्त आहार, स्वास्थ्य सचेतना र नियमित निगरानीमा ध्यान दिन सके मात्र दीर्घकालीन रूपमा यो समस्या समाधान गर्न सकिने देखिन्छ।

  • ४ बैशाख २०८३, शुक्रबार ०६:३४ प्रकाशित

  • Nabintech