बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान :  कुपोषण पहिचान र न्यूनीकरणमा प्रभावकारी पहल

  • नमस्ते कर्णाली

  • बाँके ,१९ बैशाख ।

    बालबालिका तथा आमाहरूमा देखिने कुपोषणको समयमै पहिचान गरी न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय पोषण स्क्रिनिङ अभियान बाँके जिल्लामा प्रभावकारी रूपमा सञ्चालनमा आएको छ । नेपाल सरकारको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा देशव्यापी रूपमा सञ्चालन गरिएको उक्त अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजनामार्फत कार्यान्वयन भइरहेको छ ।

    अभियानलाई सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा बाँके युनेस्को क्लबको सहकार्य रहेको छ । अभियान अन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूको पोषण अवस्था परीक्षण गरिँदैछ ।

    मिड–अपर आर्म सर्कम्फरेन्स (एमयुएसी) मापन, तौल, उचाइ/लम्बाइ र उमेरका आधारमा पोषण स्थिति मूल्यांकन गरिन्छ । परीक्षणका क्रममा गम्भीर तथा मध्यम कुपोषण भएका बालबालिका र जोखिममा रहेका आमाहरूलाई आवश्यक उपचार, परामर्श तथा रिफरल सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    अभियानको सुरुआत खजुरा गाउँपालिका–२, गउघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट गरिएको हो । प्रारम्भिक परीक्षणमा पाँच वर्षमुनिका ६९ जना बालबालिकामध्ये ५ जना मध्यम कुपोषणको अवस्थामा भेटिएका छन् । त्यस्तै, ७ जना गर्भवती महिलामध्ये २ जना कुपोषित रहेको पाइएको छ ।

    कार्यक्रममा स्वास्थ्यकर्मी प्रेम चन्द र सीता थापाले परीक्षण सेवा प्रदान गरेका थिए भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सक्रिय सहभागिता रहेको थियो । न्यूट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा आवश्यक रिफरल प्रक्रियामा सहजीकरण गरेका थिए ।

    यस अभियानलाई जिल्लाभर विस्तार गर्दै राप्तीसोनारी गाउँपालिकाका वडा नं. २, ६, ७ र ९ मा समेत सेवा सुरु गरिएको छ । स्थानीय स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागितामा समुदायस्तरमै पोषण परीक्षण सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।

    स्वास्थ्यकर्मीहरूका अनुसार, अभियानले कुपोषणको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुर्‍याउनेछ भने समयमै उपचार र परामर्श उपलब्ध गराई दीर्घकालीन स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । समुदायमै पहुँच पुर्‍याएर सञ्चालन गरिएको यो अभियानले बालबालिका र आमाहरूको पोषण अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

  • १९ बैशाख २०८३, शनिबार ११:३९ प्रकाशित

  • Nabintech