बाँकेमा ट्राफिक कडाइ: अवैध हुड र अतिरिक्त सिट हटाइँदै, १५७ सवारी कारबाहीमा

  • नमस्ते कर्णाली

  • बाँके ,१९ बैशाख ।

    सार्वजनिक सवारी साधनमा मनपरी रूपमा हुड जडान गरी यात्रु ओसारपसार गर्ने तथा अत्यधिक सरसामान बोक्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले निगरानी कडा बनाएको छ।

    आज कार्यालय प्रमुखसहितको टोलीले नेपालगन्ज–सुर्खेत रत्न राजमार्ग सडकखण्डमा विशेष ट्राफिक चेकजाँच सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने १५७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ।

    कारबाहीका क्रममा नियमविपरीत जडान गरिएका हुड तथा अतिरिक्त सिट हटाउन लगाइएको छ। साथै, सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराउँदै आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सार्वजनिक सवारी साधनमा जथाभावी संरचना परिवर्तन गर्दा यात्रुको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भएकाले यस्ता गतिविधिमाथि कडाइ गरिएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा समेत नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि थप कडा अनुगमन र कारबाही गरिनेछ।

    प्रहरीले सबै सवारी चालक तथा व्यवसायीलाई नियमअनुसार सुरक्षित र व्यवस्थित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

  • १९ बैशाख २०८३, शनिबार ११:५५ प्रकाशित

  • Nabintech