ओली र पुनको जोडीले उचाले धम्बोझी ब्याडमिन्टन प्रतियोगिताको उपाधि 

  • नमस्ते कर्णाली

  • नेपालगन्ज, २२ वैशाख । 

    प्रथम खुला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतको पुरुष ‘बी’ समूहको प्रतिस्पर्धामा बिजन ओली र जितेन्द्र पुनको जोडी प्रथम भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको आयोजनामा भएको दुईदिने प्रतियोगिताको पुरुष ‘सी’ समूहतर्फ भने दीपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयो ।

    यु–१५ पुरुष एकलतर्फ कैलालीका आदित्य चौधरी च्याम्पियन बने । प्रतियोगितामा पुरुष ‘बी’ समूहमा सनिउल्ला राइनी र राजेश साउदको जोडी उपविजेता बन्दा ‘सी’ समूहतर्फ शिव शाह र सद्दाम शेष तथा यु–१५ पुरुष एकलतर्फ बिराट बस्नेत उपविजेता बने ।

    पुरुष ‘बी’ समूहतर्फ पवन चौधरी र सन्दीप चौधरीको जोडी तथा अर्जुन बुढा र मुस्कान केसीको जोडी तृतीय भए । पुरुष ‘सी’ समूहतर्फ कुमार शान शाह, नरेश थापा, नरेश मल्ल र परशुनारायण चौधरीको जोडी तृतीय भए । यु–१५ पुरुष एकलतर्फ आशुतोष कशौधन र विपीन केसी तृतीय भए ।

    विजेताहरूलाई नेपाल ब्याडमिन्टन सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष रतनकुमार टण्डन, ब्याडमिन्टनका पूर्वप्रशिक्षक तथा खेलाडी श्रवनकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । यही वैशाख १९ र २० गते भएको प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका–१ को सहकार्यमा नेपाल ब्याडमिन्टन सङ्घ काठमाण्डौँ र बाँके जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई संस्थाका अध्यक्ष जनार्दनरत्न मल्ल ठकुरीले आभार प्रकट गरे । सो प्रतियोगिता नेपालगन्जका जेनजी सहिद आयुष थापा र शुलभराज श्रेष्ठको स्मृतिमा आयोजना गरिएको थियो ।

     

  • २२ बैशाख २०८३, मंगलवार ११:५५ प्रकाशित

  • Nabintech