खजुराका बिरेन्द्रले गरे टमाटर खेतीबाट २० लाख आम्दानी 

  • नमस्ते कर्णाली

  • सरला सुवेदी 
    बाँके ,२५ बैशाख ।
    बाँकेको खजुरा गाउँपालिका–२ सी गाउँका ५० वर्षीय वीरेन्द्रप्रसाद मुराउले व्यवसायिक टमाटर खेतीमार्फत उल्लेखनीय सफलता हासिल गर्दै कृषिमा अपार सम्भावना रहेको तथ्य पुनः स्थापित गर्नुभएको छ। परम्परागत खेतीलाई व्यवसायिक ढाँचामा रूपान्तरण गर्दै उहाँले गाउँमै आम्दानी र रोजगारी सिर्जनाको नमूना प्रस्तुत गर्नुभएको हो।
    गत वर्ष ३ बिघा जमिनमा टमाटर खेती गरेर करिब २० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका वीरेन्द्रले यस वर्ष खेती विस्तार गरी ४ बिघा पुर्‍याउनुभएको छ। करिब ७ लाख रुपैयाँ लगानीमा सुरु गरिएको यस वर्षको खेतीबाट हालसम्म सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन भइसकेको छ भने ६ लाख ५० हजार रुपैयाँ आम्दानी गरिसक्नुभएको छ। अझै करिब १००० क्विन्टल उत्पादन हुने उहाँको अपेक्षा छ, जसले आम्दानीलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।
    वीरेन्द्रको टमाटर खेती केवल व्यक्तिगत सफलतामा सीमित छैन। उहाँले यसै व्यवसायमार्फत १० देखि १५ जनासम्मलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नुभएको छ। गाउँमै श्रमको सदुपयोग गर्दै स्थानीय युवालाई कामको अवसर सिर्जना गर्नु उहाँको अर्को महत्वपूर्ण उपलब्धि हो। यही आम्दानीबाट उहाँको १० जनाको परिवार सहज रूपमा सञ्चालन भइरहेको छ।
    खाली जमिन र उपलब्ध श्रमशक्तिको सही सदुपयोग गर्न सके विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सकिने वीरेन्द्रका बुवा गेनालाल मुराउ बताउनुहुन्छ। उहाँहरूका अनुसार कृषि क्षेत्रमा लगनशीलता, आधुनिक प्रविधिको प्रयोग र बजार व्यवस्थापनमा ध्यान दिन सके गाउँमै सम्मानजनक आम्दानी सम्भव छ।
    वीरेन्द्रप्रसाद मुराउको यो सफलता कथा कृषिमा मेहनत, लगानी र दूरदृष्टि भए सम्भावना असीमित छ भन्ने सन्देश दिने प्रेरणादायी उदाहरण बनेको छ। गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सोचलाई बलियो बनाउँदै उहाँले कृषि क्षेत्रलाई रोजगारी र समृद्धिको आधारका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

  • २५ बैशाख २०८३, शुक्रबार ०७:५७ प्रकाशित

  • Nabintech