सेवाग्राहीलाई खुशी बनाएर फर्काउन आईजिपी कार्कीको निर्देशन

पर्सा र सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन


  • नमस्ते कर्णाली

  • काठमाडौं ,३० बैशाख ।

    प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरीको दैलोमा आउने सेवाग्राही कुनै न कुनै पीडा, अन्याय वा समस्याबाट गुज्रिएको अवस्थामा आउने भएकाले उनीहरूलाई निराश नभई खुशी बनाएर फर्काउने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।


    आज नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नव–निर्मित “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजिपी कार्कीले नेपाल प्रहरी अब केवल परिवर्तनको चरणमा नभई व्यवहारिक रूपान्तरणको दिशामा अघि बढिरहेको बताएका हुन् ।


    उनले प्रहरी सेवाको प्रभावकारिता केवल भौतिक संरचना, सवारी साधन वा अन्य स्रोत–साधनले मात्र निर्धारण नहुने उल्लेख गर्दै प्रहरीको बोली, व्यवहार, आचरण र सेवाशैलीबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधार आवश्यक रहेको बताए ।
    “हामी नागरिकका लागि काम गरिरहेका छौं भन्ने कुरा व्यवहारमै प्रमाणित हुनुपर्छ, नत्र भौतिक संरचनाको कुनै खास अर्थ रहँदैन,” उनले भने ।


    आईजिपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजका अत्यन्त संवेदनशील वर्ग भएकाले उनीहरूको सुरक्षा, सहायता र न्याय सुनिश्चित गर्नु नेपाल प्रहरीको प्राथमिक दायित्व भएको उल्लेख गरे । नव–निर्मित सेवा केन्द्रहरूले पीडित तथा सेवाग्राहीलाई सुरक्षित, सहज र सम्मानजनक वातावरणमा सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।
    प्रहरी कर्मचारी सीमित स्रोतसाधन र कठिन परिस्थितिका बीच निरन्तर नागरिक सेवामा खटिरहेको उल्लेख गर्दै उनले प्रहरीको कार्य वातावरण सुधारलाई पनि समान रूपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “प्रहरी पनि यही समाजका सदस्य हुन्, ४० डिग्रीको गर्मीमा सडकमा उभिने प्रहरीलाई पनि घामपानीबाट जोगिने ओत आवश्यक हुन्छ,” उनले बताए ।


    प्रहरी कार्यालय, ब्यारेक तथा सेवा केन्द्रहरूको अवस्था अझै पनि कतिपय स्थानमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले दातृ निकाय, स्थानीय तह र समुदायले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे । साथै UNOPS ले नेपाल प्रहरीको पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सेवा सुधारमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउँदै हालसम्म ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको र थप ८ वटा निर्माणाधीन रहेको जानकारी दिए ।
    आईजिपी कार्कीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने क्रममा Nepal Police App मार्फत घरबाटै उजुरी तथा गुनासो दर्ता गर्न सकिने र त्यसको प्रगति अनुगमन गर्न सकिने व्यवस्था विस्तार भइरहेको बताए । साथै आपतकालीन अवस्थामा जीपीएस लोकेसनसहित सहायता माग गर्न सकिने ‘प्यानिक मोड’ प्रणाली विकास भइरहेको जानकारी पनि उनले दिए ।


    उनले न्यायिक तथा सामाजिक विवादमा अनावश्यक व्यक्तिहरूको हस्तक्षेप बढ्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै यसले न्याय प्रक्रियामा असर पार्ने, आर्थिक भार बढाउने तथा कमजोर वर्ग अन्यायमा पर्न सक्ने जोखिम बढाएको बताए । पीडितको गोपनीयता, मर्यादा र सुरक्षालाई केन्द्रमा राखेर मात्र समाधान प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
    आईजिपी कार्कीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै कानुनअनुसार सेवा दिन नसकिने अवस्थामा स्पष्ट जानकारीसहित सम्बन्धित निकायमा सहजीकरण गर्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।


    अन्त्यमा उनले उद्घाटन गरिएको भवनलाई केवल भौतिक संरचना नभई प्रहरी–नागरिक विश्वास, सहकार्य र भरोसाको प्रतीकका रूपमा विकास गर्नुपर्ने बताए । “यो भवनसँगै हाम्रो सेवा भावना पनि बलियो हुनुपर्छ,” उनले भने ।
    कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

  • ३० बैशाख २०८३, बुधबार १८:४५ प्रकाशित

  • Nabintech