जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका–१ बजार क्षेत्रबाट शंकास्पद मासु ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले उक्त मासु बरामद गरेको हो ।
प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा खटिएको टोलीले रिक्सा जाँच गर्ने क्रममा सिटमुनि लुकाइ नेपालगन्जतर्फ लैजाँदै गरेको अवस्थामा मासु फेला पारेको जनाएको छ । बरामद गरिएको मासु १५० किलोभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा खजुरा गाउँपालिका–८ रनियापुर निवासी फैयाद कुरैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी रिक्सा चालकसमेत रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बरामद गरिएको मासु गाईको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, यसको यकिन गर्न मासुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका कुरैसीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । यसअघि पनि रनियापुर क्षेत्रबाट नेपालगन्ज तथा आसपासका क्षेत्रमा गाईको मासु आपूर्ति भइरहेको अवस्थामा पटक–पटक मासु बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ ।










