निःशुल्क स्वास्थ्य शिविरमा ३५० बढी बिरामी लाभान्वित, ४२ जनाले गरे रक्तदान

  • नमस्ते कर्णाली

  • नेपालगञ्ज,३ जेठ ।

    लाइफ लाइन जनरल हस्पिटल प्रालि र परिवर्तन समूहको संयुक्त आयोजनामा सुर्खेतरोडस्थित गुरुद्वारामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३५० भन्दा बढी बिरामी लाभान्वित भएका छन् । विशेषज्ञ चिकित्सकसहितको टोलीले विभिन्न रोगका बिरामीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरेको आयोजकले जनाएको छ ।
    शिविरमा आँखासम्बन्धी समस्या भएका ८० जना तथा अन्य विभिन्न स्वास्थ्य समस्या भएका करिब २७० जना बिरामीले सेवा लिएका थिए । शिविरका संयोजक तथा दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठका अनुसार २८० भन्दा बढी बिरामीको सामान्य रगत परीक्षण गरिएको थियो । शिविरमा मधुमेहलगायत विभिन्न रोगको परीक्षणसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
    आँखा परीक्षणका क्रममा १० जना बिरामीमा शल्यक्रिया आवश्यक देखिएकाले थप उपचारका लागि रिफर गरिएको आयोजकले जनाएको छ । आँखा उपचार सेवाका लागि नेपालगञ्ज आँखा अस्पतालले सहकार्य गरेको थियो ।
    यसैबीच, शिविर स्थलमै आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । जिल्लामा बेला–बेलामा देखिने रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
    शिविरमा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सङ्केत रिसाल, ईएनटी सर्जन डा. दिनेश चौधरी, नेपालगञ्ज स्किन सेन्टरका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक अर्जेल, खजुरा क्यान्सर अस्पतालका मूत्ररोग विशेषज्ञ डा. प्रवीण गुप्ता, फिजिसियन डा. त्रिस्टिन श्रेष्ठ तथा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन एवं मिर्गौला विशेषज्ञ डा. पारस श्रेष्ठसहित अन्य मेडिकल अफिसरहरूको टोलीले सेवा प्रदान गरेको थियो ।
    शिविरमा बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । आयोजकका अनुसार करिब ४०० भन्दा बढी बिरामीले निःशुल्क औषधि प्राप्त गरेका थिए । कार्यक्रममा नेपाल चिकित्सक संघ बाँके, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घको समेत सहकार्य रहेको थियो ।

  • ३ जेष्ठ २०८३, आईतवार ११:२९ प्रकाशित

  • Nabintech