बाँकेमा २४ चालकको परीक्षण, १४ जनामा लागुऔषध सेवन पुष्टि

  • नमस्ते कर्णाली

  • बाँके ,५ जेठ ।

     नेपालगन्जको राझाबाट लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विश्व सडक सुरक्षा सप्ताहको अवसर पारेर इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक कार्यालय बाँकेले संयुक्त रुपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा उनीहरु परेका हुन् ।

    चेकजाँचका क्रममा सार्वजनिक बस, इभी गाडी, अटो, मोटरसाइकल र स्कुटी चालक तथा केही यात्रुसहित २४ जनामाथि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १४ जनाले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख कनक बहादुर शाहीले जानकारी दिनुभयो।

    प्रहरीले मल्टिपल ड्रग टेस्ट किटमार्फत उनीहरुको स्वास्थ्य परीक्षण गरेको जनाएको छ। पक्राउ परेकाहरुलाई हाल इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ । उनीहरु सेवनकर्ता हुन् वा लागुऔषध कारोबारमा समेत संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

    अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । शाहीका अनुसार पछिल्लो समय लागुऔषध सेवनपछि सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । सडक दुर्घटनाका प्रमुख कारणमध्ये मादक तथा लागुऔषध सेवन पनि एक हो ।

    यसलाई नियन्त्रण गर्न प्रहरीले प्रविधिमैत्री परीक्षणलाई निरन्तरता दिने पनि जनाएको छ। विश्व सडक सुरक्षा सप्ताहका अवसरमा यसअघि नेपालगन्जमा चालक तथा सहचालक लक्षित स्वास्थ्य शिविर, सार्वजनिक सवारी साधनको अनुगमन समेत गरिएको उहाँले बताउनुभयो ।

     

  • ५ जेष्ठ २०८३, मंगलवार १५:०२ प्रकाशित

  • Nabintech