बाजुरा–हुम्ला सीमा विवाद घटनामा उच्चस्तरीय अनुसन्धान हुनुपर्ने माग

  • नमस्ते कर्णाली

  • धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको लाम्पाटामा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन् । बुधबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो टोलीले ड्रोन उडाएकै कारण झडप भएको भन्ने प्रहरी प्रशासनको दाबी अस्वीकार गरेका हुन् ।

    हमालले घटनाको सुरुवात जेठ २ गतेमै भएको दाबी गर्दै त्यसबेला स्थानीय जनप्रतिनिधिमाथि कुटपिट भएको र अवस्था गम्भीर बनिसकेको बताए । उनका अनुसार वडा सदस्यलाई कुटपिट गरी उपचारका लागि समेत जान नदिइएको थियो भने घर र खाद्यान्नसमेत नियन्त्रणमा लिइएको थियो ।

    उनले आफूहरूको टोली भने जेठ ५ गते मात्रै उक्त क्षेत्रमा पुगेको स्पष्ट पारे । “हामी पुग्नुभन्दा अगाडि नै हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भइसकेको थियो, कर्मचारीहरू कुटिएका थिए र मोबाइलसमेत खोसिएका थिए,” हमालले भिडियो सन्देशमा भनेका छन् ।

    मेयर हमालले ड्रोन उडाएका कारण झडप भएको भनाइलाई “हाँस्यास्पद” भन्दै खण्डन गरे । उनका अनुसार टोलीको उद्देश्य बाजुरा–हुम्ला सीमामा रहेको पर्यटकीय क्षेत्र रानीसैनको प्रवर्द्धन गर्नु मात्रै थियो । आन्तरिक पर्यटन बढे राज्यको ध्यान पुग्ने, सडक तथा पूर्वाधार विकास हुने र स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षासहित आफूहरू त्यहाँ पुगेको उनले बताए ।

    घटनाका क्रममा पत्रकारमाथिसमेत दुर्व्यवहार भएको हमालको आरोप छ । उनले पत्रकारका ड्रोन फुटाइएको, क्यामरा खोसिएको तथा समाचार संकलनमा अवरोध गरिएको बताएका छन् ।

    “यदि ड्रोन उडाउनु नै दोष हो र हाम्रो कारणले घटना भएको प्रमाणित हुन्छ भने हामी सजाय भोग्न तयार छौँ,” उनले भने । साथै, प्रहरी प्रशासनले वास्तविकता नबुझी अफवाह फैलाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

    बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण तथा बाजुरा–हुम्ला सीमाको विषयलाई लिएर मंगलबार तनाव उत्पन्न भएको थियो । खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका स्थानीयबीच भएको झडपमा ६ जना घाइते भएका थिए ।

    प्रहरी प्रशासनले भने प्रारम्भिक विवाद साम्य भइसकेको अवस्थामा मेयर हमालको टोली ड्रोनसहित पुगेपछि परिस्थिति फेरि तनावपूर्ण बनेको जनाएको छ ।

  • ६ जेष्ठ २०८३, बुधबार २०:२७ प्रकाशित

  • Nabintech