बाजुराकाे हिमाली गाउँपालिकामा पर्ने लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा दान गरेपछि वडा सदस्य गुरुङ हुम्लाको खार्पुनाथ गाउँपालिका अन्तर्गत थाली गाउँका केही स्थानीयको निशानामा परेको स्थानीयको दाबी छ । लाम्पाटा क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका समूहले गुरुङ परिवारमाथि योजनाबद्ध आक्रमण गरेको आरोप लगाइएको हो । स्थानीयका अनुसार २ जेठदेखि नै दुई जिल्लाको सीमामा पर्ने लाम्पाटा क्षेत्रमा तनाव बढ्न थालेको थियो । सोही क्रममा वडा सदस्य गुरुङको घर वरिपरि ठूलो समूह जम्मा भएको थियो । ३ जेठमा उक्त समूहले गुरुङको घरमा प्रवेश गरी उनी र उनकी श्रीमती लक्ष्मी गुरुङमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।
घटनामा गुरुङ दम्पती गम्भीर घाइते भएका छन् । स्थानीयले उनीहरुलाई मरणासन्न हुने गरी आक्रमण गरिएको बताएका छन् । घटनापछि लाम्पाटा क्षेत्रमा त्रास फैलिएको छ भने सीमाविवाद झन् चर्किने संकेत देखिएको छ ।
“घर कब्जा र लुटपाटसमेत भयो” : गाउँपालिका अध्यक्ष
हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा सदस्यको परिवारमाथि कुटपिट मात्र नभई घर कब्जा र लुटपाटसमेत भएको दाबी गरेका छन् ।
उनका अनुसार अस्थायी प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराएको विषयलाई लिएर आक्रोशित समूहले गुरुङ परिवारलाई लक्षित बनाएको हो ।
अध्यक्ष मल्लका अनुसार सोही घटनाक्रममा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि पनि आक्रमण भएको थियो । तर, लाम्पाटा क्षेत्रमा सञ्चार सम्पर्क कमजोर रहेका कारण तत्काल यथार्थ सूचना बाहिर आउन सकेको थिएन ।
“स्थिति सामान्य भनियो, तर त्यहाँ पुगेपछि अर्कै दृश्य देखियो”

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोलीलाई साइपाल क्षेत्रतर्फ लैजान सहजीकरण गरेका अध्यक्ष मल्लले प्रहरी प्रशासनबाट पर्याप्त सूचना नपाएको गुनासो गरे ।
उनले जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क गर्दा अवस्था सामान्य रहेको जानकारी दिइएको तर वास्तविकता फरक रहेको बताए ।
‘त्यहाँ पहिले नै वडा सदस्यको परिवारलाई कुटपिट गरेर हुम्लाको खार्पुनाथका स्थानीयले नियन्त्रणमा लिइसकेका रहेछन्,’ अध्यक्ष मल्लले भने, ‘जिल्ला प्रहरी प्रमुखलाई बुझ्दा “घटना सामान्य हो, साम्य भइसकेको छ” भन्नुभयो । त्यसपछि धनगढीको टोली अघि बढेको हो । तर त्यहाँ पुग्दा अवस्था अर्कै देखियो । बल्लतल्ल ज्यान जोगाएर फर्कियौँ ।’
उनका अनुसार लाम्पाटा पुगेपछि मात्रै वडा सदस्यको परिवारमाथि मरणासन्न हुने गरी आक्रमण भएको तथ्य खुलेको थियो । धनगढीको टोली त्यहाँ पुगेपछि मात्र गुरुङ परिवार आक्रोशित समूहको नियन्त्रणबाट मुक्त भएको बताइएको छ ।
सीमाविवादले लियो संवेदनशील मोड
बाजुरा र हुम्लाको सीमामा पर्ने रानीसैन–लाम्पाटा क्षेत्र पछिल्लो समय दुवै जिल्लाका स्थानीयबीच विवादको केन्द्र बनेको छ । दुवै पक्षले क्षेत्र आफ्नो प्रशासनिक अधिकारभित्र पर्ने दाबी गर्दै आएका छन् ।
यसअघि पनि सोही क्षेत्रमा झडप हुँदा चार जना घाइते भएका थिए । घाइतेहरुलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो । पछिल्ला घटनाले सीमा विवाद अब सामान्य विवादभन्दा माथि उठेर हिंसात्मक र संवेदनशील अवस्थामा पुगेको स्थानीय प्रशासनको निष्कर्ष छ ।
स्थानीयले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा विवाद समाधानका लागि संघीय सरकारको प्रत्यक्ष पहल आवश्यक रहेको बताएका छन् ।











