एकराज शर्मा नेतृत्वको समूह भन्छ– “पुस्तकालयलाई नयाँ दिशा दिन्छौं”

  • नमस्ते कर्णाली

  • ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर बाँकेको आगामी निर्वाचनका लागि एकराज शर्माको नेतृत्वमा रहेको बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वहरूको समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको छ ।

    आगामी २०८३ जेठ १० गते हुने निर्वाचनलाई लक्षित गर्दै समूहले सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा नीतिनियमलाई प्राथमिकतामा राखेर पुस्तकालयको समग्र विकास गर्ने प्रतिबद्धता जनाएको हो । पुस्तकालयलाई अध्ययन, अनुसन्धान तथा बौद्धिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने योजना समूहले अघि सारेको जनाएको छ ।

    अध्यक्ष पदका उम्मेदवार एकराज शर्मा एम.एड., एम.ए., एलएलबी तथा विद्यावारिधि (पिएचडी स्कलर) हुन् । उनी मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुरमा विगत १४ वर्षदेखि प्राध्यापनरत छन् । शर्मा पुस्तक लेखन, अनुसन्धान तथा पुस्तकालयसम्बन्धी विभिन्न लेख तथा प्रकाशनमा सक्रिय रहँदै आएका छन् । उनी पुस्तकालयका निवर्तमान सचिव समेत हुन् ।

    समूहबाट कोषाध्यक्ष पदमा विद्यार्थी नेता राजेन्द्र विष्ट तथा सहसचिव पदमा ग्रामीण विकास विषयका स्नातकोत्तर ईश्वर शर्मा उम्मेदवार रहेका छन् ।

    यस्तै सदस्य पदमा लक्ष्मी पौडेल, मिना बिसी, विरेन्द्र कुमार शाही, संगिन शर्मा तथा जिलेदार थारु उम्मेदवार रहेका छन् । उम्मेदवारहरू विभिन्न सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरू रहेको समूहले जनाएको छ ।

    समूहले पुस्तकालयको भौतिक, शैक्षिक तथा प्रविधिमैत्री विकास, अध्ययन संस्कृतिको प्रवर्द्धन तथा नयाँ पुस्तालाई पुस्तकालयसँग जोड्ने अभियानमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेको छ । साथै मतदातालाई सक्षम, बौद्धिक र उत्तरदायी नेतृत्वलाई समर्थन गर्न अपिल गरिएको छ ।

    यस्तै उपाध्यक्ष पदका उम्मेदवार निर्मल आचार्य तथा सचिव पदका उम्मेदवार रविन्द्र सुवेदी भने सर्वसम्मत चयन भएका छन् ।

  • ९ जेष्ठ २०८३, शनिबार २०:४५ प्रकाशित

  • Nabintech