जुम्लाको छुम जिउलोमा रोपाइँ सुरु

  • नमस्ते कर्णाली

  • जुम्ला,११ जेठ ।

    जुम्लाको समुद्री सतहदेखि करिब दुई हजार ८ सय ५० मिटर उचाइमा फैलिएको छुमचौर जिउलो यतिबेला फेरि हरियो बन्न खोज्दैछ । हिलोमा खुट्टा गाडेर किसानहरू मार्सी धान रोपिरहेका छन् । तर, यो रोपाइँ मात्र होइन, हराउँदै गएको पहिचान जोगाउने संघर्ष बनेको छ । विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान कुनै सामान्य बाली होइन । छुमचौर जिउलोमा आइतबार फेरि रोपाइँ सुरु भयो । महिलाका हात हिलोमा चलिरहेका थिए, पुरुषहरू बीउ उखेलेर रोपाहारलाई दिइरहेका थिए, खेतभरि पुराना असारे भाका गुञ्जिरहेका थिए । यो जुम्लाको इतिहास, पहिचान, स्वाद, संस्कृति र हिमाली जीवनको जीवित किंवदन्ती हो । पञ्चायतकालमा यही मार्सी चामल हुलाकमार्फत राजामहाराजासम्म पुग्थ्यो । अहिले पनि स्वदेशदेखि विदेशसम्म यसको माग उच्च छ । तर, उत्पादन घट्दो छ, खेत बाँझिँदै छन्, किसानको भरोसा टुट्दै गएको छ।पातारासी गाउँपालिका–३ छुम गाउँकी ललिता बुढा हिलोमा धान रोप्दै गर्दा भन्छिन्, ‘मार्सी हाम्रो चिनारी हो, तर अब किसानको मन मरेको छ ।’ उनका अनुसार मरुवा रोग, असिना, बेमौसमी वर्षा र दाना झर्ने समस्याले किसानलाई निराश बनाएको छ । खेतमा मेहनत धेरै, उत्पादन कम भएपछि धेरै किसानले मार्सी छोडेर आलु, सिमी, मकै, कोदो र कागुनोतर्फ लागेका छन् । 

    कहिल्यै लहलहाउने छुमचौरका फाँट अहिले सीमित खेतमा मात्र हरियाली देखिन्छ । पछिल्लो समय अधिकतम १५–२० वटा खेतमा मात्रै मार्सी रोपाइँ हुने गरेको स्थानीय बताउँछन् । बाँकी जमिन क्रमशः खाली हुँदै गएको छ।उत्पादनले घर धान्न नसकेपछि यही मौसममा धेरै किसान यार्सा टिप्न पाटनतिर उक्लिन्छन् । यसले खेतीप्रतिको आकर्षण झन् कमजोर बनाएको छ । किसानहरू भन्छन्, ‘मार्सीले अब पेटभन्दा बढी सम्झना धानिरहेको छ ।’ किसानहरूले निरोगी बिउ, आधुनिक प्रविधि र विशेष बजेटको माग गरिरहेका छन् । उनीहरू छुमचौरलाई कृषि पर्यटन क्षेत्र घोषणा गरेर व्यवस्थित संरक्षण गर्नुपर्ने बताउँछन् । स्थानीयको बुझाइमा मार्सी धान जोगाउनु खेती जोगाउनु होइन, जुम्लाको मौलिक सभ्यता जोगाउनु हो । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले मार्सी धानको जगेर्ना सबैको साझा दायित्व भएको बताए । ‘माग उच्च छ, मूल्य राम्रो छ । 

    अब गुणस्तरीय उत्पादन र आधुनिकीकरणमा जानुपर्छ,’ उनले भने । यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले पनि छुमचौरलाई ‘मार्सी पकेट क्षेत्र’ बनाएर विशेष योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । चन्दननाथ–१ र ३ जात सिफारिस भइसकेका छन् भने मार्सी–१८, २० र २२ परीक्षणको चरणमा छन् । कृषि कार्यालयका अनुसार यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो । तर खेती क्षेत्र भने घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको छ । संख्या बढे पनि वास्तविक चुनौती खेत जोगाउने हो । किनकि खेत बाँझिएपछि अन्न हराउँदैन, पुस्तौँदेखि बाँचिरहेको सभ्यता पनि हराउन थाल्छ । छुमचौर यतिबेला फेरि रोपाइँको गीतमा गुञ्जिएको छ । तर, ती गीतभित्र किसानको चिन्ता पनि छ । बुढापाकाहरु भन्छन्, अहिले जोगाउन सकिएन भने, विश्वकै उच्च स्थानमा फल्ने मार्सी धान इतिहासका पानामा मात्रै सीमित हुन सक्छ ।

  • ११ जेष्ठ २०८३, सोमबार १४:१० प्रकाशित

  • Nabintech