हिमाली गाउँपालिका स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सफलता

पूर्ण खोप गाउँपालिका घोषणा


  • नमस्ते कर्णाली

  • हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रम” आईतबार सम्पन्न भएको छ । दुर्गम तथा भौगोलिक रूपमा विकट हिमाली गाउँपालिकामा रहेका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिकाभित्रका १६ देखि २३ महिनासम्मका १३५ जना बालबालिकाले सबै आवश्यक पूर्ण खोप प्राप्त गरेको जानकारी दिइएको छ । त्यस्तै २४ महिनादेखि ५९ महिनासम्मका २८५ जना बालबालिकाले समेत पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

    कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राजकला सार्की ले यो उपलब्धि सम्पूर्ण गाउँपालिकावासीको साझा सफलता भएको बताउनु भयो ।उहाँका अनुसार“हिमाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सफल हुनु हाम्रो लागि गौरवको विषय हो । दुर्गम बस्तीमा रहेका हरेक बालबालिकासम्म स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय समुदायले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण छ । अब पनि कुनै बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले निरन्तर काम गर्नेछ ।” उपाध्यक्ष सार्कीले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा मातृ तथा शिशु स्वास्थ्यलाई थप प्राथमिकतामा राखिने बताउनु भयो ।

    स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले हिमाली गाउँपालिका जस्तो दुर्गम क्षेत्र, कठिन भौगोलिक अवस्था र पहुँचको चुनौतीका बाबजुद महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाको अथक प्रयासले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले पूर्ण खोप कार्यक्रमले बालबालिकालाई विभिन्न सरुवा तथा घातक रोगबाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउँदै लैजाने जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

  • ११ जेष्ठ २०८३, सोमबार १४:१६ प्रकाशित

  • Nabintech