बाँके — लुम्बिनी प्रदेश राष्ट्रिय गोजुरियो कराते–दो संघ नेपालको आयोजनामा “दोस्रो बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता २०८३” बाँकेको कोहलपुरमा सञ्चालन हुने भएको छ। प्रतियोगिता जेठ १६ गतेदेखि १८ गतेसम्म कोहलपुर–५ स्थित वेष्टर्न ई.मी. स्कुलमा आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा देशभरिका विभिन्न जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय गोजुरियो कराते–दो संघ नेपालका सहायक प्रमुख प्रशिक्षक एवं कार्यक्रम संयोजक रमेश डाँगीले प्रतियोगितालाई सफल बनाउन तीव्र रूपमा तयारी गरिएको जानकारी दिए। उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ८ देखि ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगितामा विभिन्न उमेर समूह तथा तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। टिम प्रथम हुनेलाई रु. २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार प्रतियोगिताले राष्ट्रिय स्तरमा कराते खेलको विकास, नयाँ खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रति युवापुस्ताको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै, प्रतियोगिताले बाँके जिल्लालाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ। पत्रकार सम्मेलनमा खेलकुदकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।









