युवालाई साइबर सचेतना : बाँकेमा डिजिटल साक्षरता तथा साइबर सुरक्षा कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँके ,१३ जेठ ।

    डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर सुरक्षासम्बन्धी चुनौती बढिरहेका बेला बाँकेका युवालाई लक्षित गर्दै “साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
    लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सुरक्षित डिजिटल प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको परिषद्का कार्यकारी उपाध्यक्ष हंसराज खनालले जानकारी दिनुभयो।
    कार्यकारी उपाध्यक्ष खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले वर्तमान समयमा युवाका लागि डिजिटल साक्षरता अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक केशव पौडेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्ट तथा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले साइबर अपराधका जोखिम, अनलाइन ठगी, व्यक्तिगत गोपनीयता सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल जिम्मेवारीका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो।
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक बिष्टले पछिल्लो समय साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको बताउँदै विशेषगरी युवापुस्ता यसबाट बढी प्रभावित भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “साइबर अपराधमा युवापुस्ताको संलग्नता र पीडित दुवै बढिरहेका छन्, त्यसैले सबैजना सचेत हुन जरुरी छ।”
    परिषद्का अधिकृत प्रेमराज रावतका अनुसार कार्यक्रममा बाँकेका विभिन्न शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
    सहभागी विद्यार्थी बिन्दु शर्मा र खुस्बु केसीले कार्यक्रमबाट सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको सुरक्षा तथा साइबर जोखिमबाट बच्ने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिनुभयो।
    सहजकर्ता प्रकाश उपाध्यायले कार्यक्रमले युवामाझ डिजिटल दुनियाँलाई सुरक्षित, जिम्मेवार र सिर्जनात्मक रूपमा प्रयोग गर्ने चेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।

  • १३ जेष्ठ २०८३, बुधबार १०:४७ प्रकाशित

  • Nabintech