बाँकेमा गर्मीको कहर : किसान–मजदुर बढी प्रभावित, ‘हिटस्ट्रोक’ जोखिमले भेरी अस्पताल हाई अलर्टमा

  • नमस्ते कर्णाली

  • बाँके ,१३ जेठ ।

    अत्यधिक गर्मी र तातो हावाको प्रभावका कारण बाँके जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । विशेषगरी किसान, दैनिक ज्यालादारी मजदुर तथा बाहिर श्रम गर्ने वर्ग सबैभन्दा बढी समस्यामा परेका छन् भने अस्पतालहरूमा गर्मीजन्य रोगका बिरामीको चाप बढ्न थालेपछि स्वास्थ्य संस्थाहरू सतर्क बनेका छन् ।
    पश्चिम नेपालको प्रमुख प्रेषण अस्पतालका रूपमा रहेको भेरी अस्पताल ले सम्भावित ‘हिटस्ट्रोक’ लगायतका जोखिमलाई ध्यानमा राख्दै इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाई अलर्ट’ मा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिनुभयो ।
    उहाँका अनुसार पछिल्ला दिनमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउने, घमौरा देखिने तथा डि–हाइड्रेसन भएका बिरामीको संख्या बढ्दै गएको छ । “बाँकेमा अत्यधिक गर्मी हुने भएकाले ‘हिटस्ट्रोक’ को जोखिम उच्च छ । त्यसका लागि अस्पताल तयारी अवस्थामा छ,” डा. दर्नालले भन्नुभयो ।
    नेपालको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई जिल्लाहरूका लागि ‘लु’ तथा पहाडी क्षेत्रमा ‘तातो दिन’ को चेतावनी जारी गरिसकेको छ । महाशाखाले तापक्रम अझै बढ्न सक्ने र वर्षा कम हुने सम्भावना रहेको जनाएको छ ।
    चर्को घामका कारण खेतबारीमा काम गर्ने किसान र मजदुरहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बाँकेको जानकी गाउँपालिकाका किसान रामलाल यादवले गर्मीका कारण खेतमा काम गर्नै कठिन भएको बताउनुभयो । “बिहानैदेखि घाम असाध्यै पोल्छ, दिउँसो खेतमा बस्नै सकिँदैन । पानी पनि चाँडै सकिन्छ, शरीर कमजोर भएको महसुस हुन्छ,” उहाँले भन्नुभयो ।
    नेपालगञ्ज क्षेत्रमा दैनिक ज्यालादारी मजदुरी गर्दै आएका श्रमिक सन्तोष विकले गर्मीका कारण कामको समय घटाउनुपरेको बताउनुभयो । “घामले टाउको नै पोल्छ, धेरै बेर काम गर्न सकिँदैन । दिनभरि पसिना बग्छ, कमजोरी हुन्छ । काम नगरे आम्दानी हुँदैन, गरे स्वास्थ्य बिग्रिने डर छ,” उहाँले गुनासो गर्नुभयो ।
    अस्पतालमा उपचारका लागि आएका बिरामीहरू पनि गर्मीका कारण स्वास्थ्य समस्या बढेको बताउँछन् । नेपालगञ्जकी २२ वर्षीया अस्मिता थापाले केही दिनदेखि लगातार ज्वरो, टाउको दुख्ने र वाकवाकी हुने समस्या देखिएपछि अस्पताल आउनुपरेको बताउनुभयो । “गर्मी धेरै भएपछि खाना खान मन लागेन, शरीर कमजोर भयो । अहिले उपचार गराइरहेकी छु,” उहाँले भन्नुभयो ।
    यस्तै, कोहलपुरका ५५ वर्षीय हरिराम चौधरीले अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी भएर चक्कर आउने समस्या भएको बताउनुभयो । “दिउँसो बाहिर निस्किँदा सासै फेर्न गाह्रो हुन्छ । धेरै पसिना बग्ने र कमजोरी हुने भएपछि अस्पताल आउनुपर्‍यो,” उहाँले भन्नुभयो ।
    चिकित्सकहरूले गर्मीबाट जोगिन दिउँसोको चर्को घाममा घरबाहिर ननिस्कन, हल्का र सूती कपडा लगाउन, बाहिर निस्कँदा छाता, टोपी तथा सनग्लास प्रयोग गर्न, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बासी तथा खुला ठाउँमा राखिएको खाना नखान आग्रह गरेका छन् ।
    लगातार उच्च ज्वरो आउने, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा लगातार बान्ता भइरहने समस्या देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूले सुझाव दिएका छन् । चिकित्सकहरूका अनुसार ‘लु’ का बिरामीसँगै ज्वरो, झाडापखाला तथा सर्पदंशका घटनासमेत बढ्न थालेका छन् ।

  • १३ जेष्ठ २०८३, बुधबार १०:४८ प्रकाशित

  • Nabintech