सुर्खेत ,१६ जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलनअन्तर्गत ‘छोरीका मनका कुरा’ सत्रमा सहभागी छोरीहरूले शिक्षा, रोजगार, लैङ्गिक समानता, हिंसा न्यूनीकरण र नीतिगत सहभागितामा अझ प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् । सहजकर्ता आशिका कोइरालाले सञ्चालन गरेको सत्रमा सुर्खेतका विभिन्न स्थानीय तहबाट सहभागी छोरीहरूले आफ्ना अनुभव, समस्या र अपेक्षाहरू राख्दै राज्यका तीनै तहका सरकारसँग समावेशी र प्रभावकारी कार्यक्रमको माग गरेका हुन् । वीरेन्द्रनगरकी गौमाया अधिकारीले महिनावारी, बलात्कार र लैङ्गिक हिंसा जस्ता समस्या अझै गम्भीर रहेको उल्लेख गर्दै बजेट निर्माण र नीति निर्माणमा छोरीहरूको सहभागिता न्यून रहेको बताइन् । उनले डिजिटल पहुँच, वित्तीय साक्षरता र नेतृत्व विकासमा विशेष कार्यक्रम आवश्यक रहेको बताइन् । बराहताल गाउँपालिकाकी हेमा सुनारले छोरीका लागि बनेका ऐन–नियमको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको भन्दै ती कानुन व्यवहारमा लागू गर्न सरकारलाई आग्रह गरिन् । चिङ्गाडकी चन्द्रा रानाले गुणस्तरीय शिक्षा, रोजगारीको कमी, लैङ्गिक विभेद र असुरक्षित वातावरण मुख्य समस्या भएको बताउँदै बालविवाह र हिंसा अन्त्य गर्न शिक्षा र जनचेतनालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् । चौकुने गाउँपालिकाकी कल्पना बान्तोलाले छाउपडी, बालविवाह, महिला हिंसा र यौन दुव्र्यवहार जस्ता कुरीतिहरू अझै कायम रहेको उल्लेख गर्दै यसको अन्त्य घर–परिवारदेखि नै सुरु गर्नुपर्ने बताइन्। उनले अभिभावक र समाजको सोच परिवर्तन बिना कानुन मात्र पर्याप्त नहुने धारणा राखिन् । लेकबेसीकी किरण शर्माले किशोर–किशोरी सम्बन्धी कार्यक्रमहरू अझ व्यवस्थित हुनुपर्ने बताउँदै छोरीहरूको समस्या समाधानमा स्थानीय तह अझ सक्रिय हुनुपर्ने अपेक्षा व्यक्त गरिन् । गुर्भाकोट नगरपालिकाकी सोनिया ओलीले अझै पनि शिक्षामा विभेद कायम रहेको उल्लेख गर्दै छोरा र छोरीबीच शैक्षिक अवसरमा हुने असमानता अन्त्य गर्नुपर्ने बताइन् ।
सत्रमा सहभागी छोरीहरूले आगामी ४–५ वर्षमा लैङ्गिक समानता, बालविवाह अन्त्य, हिंसा न्यूनीकरण, गुणस्तरीय शिक्षा र नेतृत्व विकास सुनिश्चित हुनुपर्ने अपेक्षा व्यक्त गरे। उनीहरूले छोरीहरू आत्मनिर्भर, आत्मविश्वासी र निर्णय तहमा पुग्ने वातावरण बनाउन राज्य, समाज र परिवार सबैको साझा भूमिका आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।









