महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव छैन ः नगर प्रमुख ढकाल

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१६ जेठ ।
    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको सक्षम तथा निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने बताएकी छन् । श्री ज्योति फाउन्डेशनको आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले महिला अधिकारका लागि भएका ऐतिहासिक संघर्ष र प्राप्त उपलब्धिको संरक्षण गर्दै थप सशक्तीकरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा महिला अधिकार स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षको स्मरण गर्दै योगमाया न्यौपानेजस्ता अग्रणी महिलाले सती प्रथा, बालविवाह तथा अन्य सामाजिक कुरीतिविरुद्ध उठाएको साहसी आवाजले आजको परिवर्तनको आधार निर्माण गरेको बताइन् । नगर प्रमुख ढकालले वि.सं. २०६३ सालमा संसदबाट पारित ऐतिहासिक चार बुँदे घोषणाले महिलाको समान अधिकार र राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेको उल्लेख गर्दै त्यसले नेपाली महिलाको राजनीतिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको धारणा राखिन् ।
    उनले महिला अधिकारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै पनि लैङ्गिक विभेद, हिंसा, असमान अवसर तथा सामाजिक कुरीतिका चुनौती कायम रहेको बताइन् । यस्ता चुनौतीको अन्त्यका लागि राज्य, समाज र परिवार सबै तहबाट सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो । महिलाहरू अब पीडा र उत्पीडनका कथामा मात्र सीमित नरही आफ्ना संघर्ष, सफलता र उपलब्धिका प्रेरणादायी कथामार्फत समाज परिवर्तनको नेतृत्व गर्न सक्षम भएको उनले बताइन् । महिलाको आत्मविश्वास, क्षमता र नेतृत्व विकासले मात्रै समतामूलक समाज निर्माण सम्भव हुने उनको धारणा थियो । ढकालले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताइन् । उनले कर्णालीका छोरीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न, आफ्नो क्षमता पहिचान गर्न र समाज तथा राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् । ‘महिलाको सहभागिता केवल प्रतिनिधित्वको विषय होइन, यो समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणको आधार हो,’ उनले भनिन् । कार्यक्रममा सहभागी छोरीहरूलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले समानता, सम्मान र अवसरको सुनिश्चितताका लागि निरन्तर संघर्ष र सहकार्य आवश्यक रहेको बताउँदै भविष्यप्रति आशावादी र दृढ संकल्पित भएर अघि बढ्न आह्वान गरिन् ।

  • १६ जेष्ठ २०८३, शनिबार २२:३० प्रकाशित

  • Nabintech