सुर्खेत ,१६ जेठ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले छोरीहरूको सशक्तीकरण, शिक्षा, नेतृत्व विकास तथा आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कर्णाली प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि सामाजिक विभेद, बालविवाह, छाउपडी, लैङ्गिक असमानता र हिंसाजस्ता समस्याले प्रदेशको विकासमा चुनौती थपिरहेको बताए । उनले कर्णालीका छोरीहरूमा साहस, परिश्रम, सिर्जनशीलता र नेतृत्व क्षमता उच्च रहेको उल्लेख गर्दै विभिन्न चुनौतीका बाबजुद उनीहरूले समाजमा सकारात्मक परिवर्तनको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरे। सम्मेलनलाई केवल औपचारिक कार्यक्रम नभई छोरीहरूको सपना, संघर्ष, आत्मविश्वास र सम्भावनालाई उजागर गर्ने साझा मञ्चका रूपमा लिनुपर्ने उनको भनाइ थियो । मन्त्री भण्डारीले सम्मेलनले लैङ्गिक समानता, बालविवाह न्यूनीकरण, महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्य, गुणस्तरीय शिक्षामा पहुँच, नेतृत्व विकास, अधिकार सुनिश्चितता तथा स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ उठाएको बताए। यी विषय सामाजिक रूपान्तरण र दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उनले उल्लेख गरे । ‘हरेक छोरी सुरक्षित, शिक्षित, आत्मनिर्भर र आफ्नो क्षमता अनुसार अघि बढ्न सक्ने वातावरण निर्माण गर्नुपर्छ,’ मन्त्री भण्डारीले भने, ‘छोरीको प्रगति केवल परिवारको मात्र नभई समाज र राष्ट्रकै प्रगति हो ।’ उनले बालविवाह न्यूनीकरणका लागि मन्त्रालयले रणनीति तयार गरी कार्यान्वयन गरिरहेको जानकारी दिए। कानुनी व्यवस्था हुँदाहुँदै पनि सामाजिक चेतनाको अभावका कारण बालविवाहका घटना अझै देखिने गरेको भन्दै यसको अन्त्यका लागि स्थानीय तह, समुदाय र सरोकारवालासँग सहकार्य गरेर अघि बढिरहेको बताए । मन्त्री भण्डारीले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालबालिकाको अवस्थाबारे नियमित प्रतिवेदन प्रकाशन, युवा प्रतिभा पहिचान पुरस्कार, युवा उद्यमशीलता पुरस्कार, महिला उद्यमी प्रवद्र्धन कार्यक्रम तथा युवा वैज्ञानिक सम्मेलनजस्ता कार्यक्रम मन्त्रालयले सञ्चालन गरिरहेको जानकारी दिए । यस्तै, उच्च शिक्षा अध्ययनरत छात्रा, अपाङ्गता भएका विद्यार्थी तथा दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षामा पहुँच विस्तार गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । विकासलाई पूर्वाधार निर्माणमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र स्थानीय आर्थिक विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। उनले प्रदेश सरकार सबै नागरिकलाई समान अवसर प्रदान गर्दै समृद्ध र समावेशी समाज निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।









