जुम्ला ,१७ जेठ ।
मनसुन सुरु भएसँगै सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य विपद्जन्य घटनाको जोखिम बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले पूर्वतयारीका कार्यक्रमलाई तीव्रता दिएको छ।
मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने उद्देश्यले रेडक्रसले स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गरी विभिन्न पूर्वतयारीका गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।
रेडक्रसले विशेषगरी बस्ती, बजार तथा उच्च जोखिमयुक्त क्षेत्रका ढल, खोला र नालाको सरसफाइ, अवरुद्ध पानी निकास खुलाउने तथा थुप्रिएका लेदो, ढुंगा र फोहोर हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ। आगामी १५ दिनभित्र यस्ता गतिविधि सम्पन्न गर्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको शाखाले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाकी सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले मनसुनका कारण हुन सक्ने सम्भावित विपद्बाट नागरिकलाई सुरक्षित राख्न पूर्वतयारीका कामलाई प्रभावकारी ढंगले अगाडि बढाइएको बताइन्।
उनका अनुसार स्थानीय तह, सुरक्षा निकाय, समुदाय तथा सम्बन्धित सरोकारवालासँगको सहकार्यमा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन्। “मनसुनजन्य घटनाबाट हुने क्षति कम गर्न समयमै तयारी आवश्यक हुन्छ,” उनले भनिन्, “त्यसैले ढल, खोला तथा नालामा थुप्रिएको लेदो र फोहोर हटाउने, पानीको निकास सहज बनाउने तथा जोखिमयुक्त स्थानहरूको पहिचान गर्ने कार्यलाई प्राथमिकता दिएका छौं।”
सामाजिक परिचालक करबिरबहादुर चन्दले जुम्ला सदरमुकामका केही क्षेत्रमा नालाहरू अवरुद्ध हुँदा वर्षायाममा पानी सडकमै बग्ने समस्या देखिएको बताए। उनका अनुसार यस्तो अवस्था वर्षात्को समयमा थप जोखिमपूर्ण बन्ने भएकाले समयमै सरसफाइ र व्यवस्थापन आवश्यक छ।
“धेरै स्थानमा नालामा बग्नुपर्ने पानी सडकमा बगिरहेको छ,” उनले भने, “यसले सडकमा क्षति पुर्याउनुका साथै पैदलयात्री र स्थानीय बासिन्दाका लागि दुर्घटनाको जोखिमसमेत बढाएको छ।”
चन्दले विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सरसफाइ तथा पूर्वतयारी अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए।
मनसुनका बेला जुम्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, सडक अवरोध तथा बस्ती जोखिममा पर्ने समस्या दोहोरिने गरेको छ। यही अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले समुदायस्तरमा सचेतना अभिवृद्धि, जोखिम पहिचान तथा विपद् प्रतिकार्यका लागि आवश्यक तयारीलाई समेत सँगसँगै अगाडि बढाएको जनाएको छ।









