बाँके, १८ जेठ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरस्थित खल्लाझगडियामा निर्माणाधीन स्थायी तटबन्धको प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गर्दै वर्षायाम सुरु हुनुअघि निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
जनताको तटबन्ध आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छतकुलीका अनुसार प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीलगायत आयोजना कार्यालयका अधिकारी तथा प्राविधिकहरूको टोलीले निर्माणस्थल पुगेर कार्यप्रगतिबारे जानकारी लिएको हो।
निरीक्षणका क्रममा अधिकारीहरूले तटबन्ध निर्माणको प्रगति समीक्षा गर्दै बाढीको जोखिम बढ्नुअघि नै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आयोजना प्रमुख छतकुलीले वर्षा सुरु हुनुअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो।
दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पुरानो तटबन्ध भत्काएपछि फत्तेपुर क्षेत्र कटान र डुबानको उच्च जोखिममा परेको थियो। त्यसपछि स्थानीयवासीले स्थायी समाधानको माग गर्दै आएका थिए। गत वर्ष तत्कालीन जोखिम न्यूनीकरणका लागि बाँस र बालुवाका बोरा प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण गरिएको थियो।
निर्माणस्थलमै पुगेका प्रमुख जिल्ला अधिकारी तामाङले वर्षा र सम्भावित बाढीजन्य जोखिम सुरु हुनुअघि नै तटबन्ध निर्माण पूरा गर्न निर्माण कम्पनीलाई स्पष्ट निर्देशन दिइएको बताउनुभयो। उहाँका अनुसार निर्माण कम्पनी साइमा दुर्गा जेभीका प्रतिनिधि राजबहादुर शाहीले निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
निरीक्षणका क्रममा आयोजना प्रमुख छतकुली र कम्पनीका प्रतिनिधि शाहीले निर्माणको हालसम्मको प्रगति, बाँकी काम तथा निर्धारित समयभित्र लक्ष्य हासिल गर्ने कार्ययोजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।
करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण भइरहेको ५०० मिटर लामो स्थायी तटबन्ध आगामी असोजभित्र सम्पन्न गर्ने लक्ष्यसहित साइमा दुर्गा जेभीले गत वर्ष ठेक्का सम्झौता गरेको थियो। तटबन्ध निर्माण सम्पन्न भएपछि फत्तेपुर क्षेत्रका बस्ती तथा कृषि योग्य जमिनलाई बाढीजन्य कटान र डुबानबाट दीर्घकालीन सुरक्षा मिल्ने अपेक्षा गरिएको छ।










