बर्दिया ,१८ जेठ ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा रोपिएको चैते गँबारो किराको प्रकोप बढेपछि किसानहरू चिन्तित बनेका छन्। धान पाक्ने चरणमा पुगेका बेला किराको आक्रमण बढ्दा यस वर्ष उत्पादनमा कमी आउने संकेत देखिएको किसानहरूको भनाइ छ।
राजापुर नगरपालिकाका व्यावसायिक किसान तथा गणेशबाबा एग्रोसिड कम्पनीका प्रबन्धक पहारी थारूले गँबारो किराका कारण यस वर्ष चैते धान उत्पादन कम्तीमा १० प्रतिशतले घट्न सक्ने बताउनुभयो। उहाँका अनुसार पछिल्ला वर्षहरूमा गँबारो किराको प्रकोप निरन्तर बढ्दै गएको छ।
“किरा लाग्ने समयमै पहिचान गरेर नियन्त्रणका उपाय अपनाउनुपर्छ। किसान र कृषि प्राविधिक दुवैले समयमै ध्यान नदिँदा उत्पादनमा असर पर्न थालेको छ,” उहाँले भन्नुभयो। अहिले धान उत्पादनको अन्तिम चरणमा पुगेकाले थप नियन्त्रणका उपाय प्रभावकारी नहुने उहाँको भनाइ छ।
त्यस्तै, गेरुवा गाउँपालिका–१ जनकनगरका किसान फत्तेसिंह वैद्यले यस वर्ष गत वर्षको तुलनामा गँबारो किराको प्रकोप बढी देखिएको बताउनुभयो। “जसले समयमै प्राविधिक सल्लाह लिएर विषादी र मोहनी पासो प्रयोग गरे, उनीहरूको क्षति कम भयो। तर जानकारी नपाएका धेरै किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ,” उहाँले गुनासो गर्नुभयो।
गेरुवा गाउँपालिका–४ गिदरपुरका किसान सीताराम चौधरीले पनि यस वर्ष चैते धानमा गँबारो किराको असर उल्लेख्य रूपमा बढेको बताउनुभयो। “गत वर्षभन्दा यस पटक किराको प्रकोप धेरै देखिएको छ। खेतमै धानका बोटहरू सुक्दै गएका छन्, उत्पादन घट्ने चिन्ता छ,” उहाँले भन्नुभयो।
यता, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख वीरेन्द्र पराजुलीले भने हरेक तीन–चार वर्षमा कुनै न कुनै प्रकारको किराको प्रकोप देखिने गरेको बताउनुभयो। समयमै नियन्त्रणका उपाय अपनाइएकाले अवस्था महामारीका रूपमा नफैलिएको उहाँको दाबी छ।
उहाँका अनुसार बर्खे धानको तुलनामा चैते धानमा रोग तथा किराको जोखिम बढी हुने भएकाले किसानलाई विषादी वितरण, मोहनी पासो प्रयोग तथा नियन्त्रणका विधिबारे नियमित जानकारी दिने गरिएको छ। “अहिलेसम्मको अवस्था सामान्य छ। उत्पादनमा केही असर परे पनि ठूलो गिरावट आउने अवस्था देखिएको छैन,” पराजुलीले बताउनुभयो।
यस वर्ष बर्दियामा ७५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ। उक्त क्षेत्रबाट चार हजार ४२५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि कार्यालयको तथ्यांक छ। गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७०० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो।
धान उत्पादनमा आत्मनिर्भरता बढाउने तथा चैते धान प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान जोन कार्यक्रम सञ्चालन गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०७५/७६ देखि बर्दियामा धान सुपर जोन कार्यक्रम लागू गरिएको छ। तर पछिल्ला वर्षहरूमा देखिँदै आएको गँबारो किराको प्रकोपले किसान र कृषि क्षेत्रका सरोकारवालाहरूलाई थप सतर्क बन्नुपर्ने चुनौती खडा गरेको छ।










