भालुको आक्रमणमा आठ भेडा मरे

  • नमस्ते कर्णाली

  • जुम्ला, १९ जेठ । 

    जुम्लाको गुठिचौर गाउँपालिका–४ थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन् । स्थानीय कृषक नरेन्द्र अधिकारीका भेडा सोमबार बिहान करिब ४ बजेको समयमा भालुले मारेको हो । रातिको समयमा गोठमा हुलेका अवस्थामा रहेको भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार घटनापछि पाँच वटा भेडा अझै बेपत्ता छन् भने एक भेडा गम्भीर घाइते अवस्थामा रहेको छ । बथानका २९ वटा भेडा भने सकुशल रहेका छन्।रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बेपत्ता भेडाको खोजी कार्य जारी रहेको छ ।

    प्रति भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने भएकाले आठ वटा भेडा मर्दा किसान अधिकारीलाई एक लाख ४४ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । भेडापालनलाई मुख्य रोजीरोटीको आधार बनाएका अधिकारीले एकैपटक ठूलो क्षति व्यहोर्नुपरेको बताए । जुम्लाका किसानका लागि भेडा पालन परिवारको आयस्रोत, भविष्यको भरोसा र जीवन धान्ने आधार हुन् । भेडापालनबाटै घरखर्च चलाउँदै आएका अधिकारीले एकै रातमा आफ्नो मुख्य आम्दानीको स्रोत गुमाउनुपरेको बताए । हिमाली क्षेत्रमा जंगली जनावर र मानवबीचको द्वन्द्व बढ्दै जाँदा किसानहरू झन् असुरक्षित बन्दै गएको स्थानीय बताउँछन् । केही समय अघि जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको थियोे ।

  • १९ जेष्ठ २०८३, मंगलवार ०९:०४ प्रकाशित

  • Nabintech