बर्दिया ,१९ जेठ ।
बाघ संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यसहित बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिका वन्यजन्तुको गणना सुरु गरिएको छ। विश्वका सीमित १३ देशमा मात्र पाइने दुर्लभ वन्यजन्तु बाघको दीर्घकालीन संरक्षणका लागि उसको बासस्थान मात्र होइन, आहारा प्रजातिको पर्याप्त उपलब्धता पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै निकुञ्ज क्षेत्रमा बाघले मुख्य रूपमा खाने जनावरहरूको अवस्था र सङ्ख्याबारे तथ्याङ्क संकलन थालिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बा हाम्फेका अनुसार बाघको प्रमुख आहाराका रूपमा रहेका चितल, बारसिंगा, जरायो र बदेललगायतका वन्यजन्तुको गणना सुरु गरिएको छ। संरक्षणविद्हरूका अनुसार एउटा वयस्क बाघलाई एक हप्तामा करिब ५० देखि ६० किलोग्राम मासु आवश्यक पर्ने भएकाले आहारा प्रजातिको पर्याप्त उपलब्धता बाघ संरक्षणको आधारभूत शर्त मानिन्छ।
नेपालमा सन् २०२२ मा गरिएको अध्ययनले बाघका लागि आवश्यक आहारा प्रजातिको उपलब्धता ९८ प्रतिशत रहेको देखाएको थियो। उक्त अध्ययनमा एक वर्ग किलोमिटर वन क्षेत्रमा औसत ९० वटा आहारा प्रजातिका जनावर भेटिएको तथ्याङ्क राष्ट्रिय प्रकृति संरक्षण कोषले सार्वजनिक गरेको थियो।
हाल सञ्चालन भइरहेको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया तथा चोरी–सिकारी नियन्त्रण युवा परिचालन समूहको सहभागिता रहेको छ। गणना कार्यका लागि पाँच वटा हात्ती, चार वटा मोटरसाइकल तथा ३१ जना जनशक्ति परिचालन गरिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा प्रत्येक चार वर्षमा बाघ गणना गर्ने परम्परा रहेको छ। पछिल्लो पटक सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार बर्दियामा बाघको सङ्ख्या १२५ पुगेको थियो। संरक्षणकर्मीहरूका अनुसार बाघका लागि पर्याप्त आहारा उपलब्ध हुन सके बाघको सङ्ख्या वृद्धि हुनुका साथै यसको बासस्थान संरक्षण, पारिस्थितिकीय प्रणालीको सन्तुलन र समग्र जैविक विविधताको संरक्षणमा समेत सकारात्मक योगदान पुग्नेछ। यही विश्वासका साथ सुरु गरिएको आहारा प्रजातिको गणनाले बर्दियामा बाघ संरक्षणका आगामी रणनीति तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।









