बर्दिया ,२० जेठ ।
बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन, लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणका लागि हालसम्म भएका प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले आयोजित कार्यशाला सम्पन्न भएको छ।
सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिका, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति (LCCHT) र बाल अधिकार समिति (CRC) को समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा कार्यशाला सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले गर्नुभएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी होमप्रसाद चौधरी, LCCHT तथा CRC का पदाधिकारी एवं सदस्यहरू, शिक्षा, महिला तथा बालबालिका तथा स्वास्थ्य शाखाका प्रमुखहरू, पत्रकार, राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरू लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यशालाको मुख्य उद्देश्य मानव बेचबिखन, लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणका क्षेत्रमा हालसम्म भएका उपलब्धि, चुनौती र प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षका लागि समन्वयात्मक, समुदायमुखी तथा प्रभावकारी कार्ययोजना तयार गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले समितिले हालसम्म गरेका प्रमुख उपलब्धि तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यशालाको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर प्रमिसा थारुले सहजीकरणमा सहयोग गर्नुभएको थियो।
समापन मन्तव्यका क्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमुखी वातावरण निर्माण गर्न सबै पक्षको साझा जिम्मेवारी, प्रभावकारी समन्वय र निरन्तर प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले कार्ययोजनालाई व्यवहारमा उतार्दै समुदायमा सकारात्मक तथा दिगो परिवर्तन ल्याउन सबै सरोकारवालाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले मानव बेचबिखन, लागूऔषध दुर्व्यसन र बालविवाहमुक्त समाज निर्माणका लागि साझेदारी, प्रतिबद्धता र सामूहिक प्रयासलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले “सुरक्षित, समावेशी र उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य छ” भन्ने साझा निष्कर्षसहित कार्यक्रम सम्पन्न गरेका हुन्।










