बालअधिकार संरक्षणमा जानकी गाउँपालिकाको पहल : तीनदिने सूचना व्यवस्थापन तालिम सम्पन्न

  • नमस्ते कर्णाली

  • बाँके ,२८ जेठ ।
    बाँकेको जानकी गाउँपालिकामा स्थानीय तहबाट प्रदान गरिने बाल संरक्षण सेवा तथा बालअधिकार संरक्षणलाई अझ प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको तीनदिने बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) सम्बन्धी तालिम सम्पन्न भएको छ।
    जानकी गाउँपालिकाको आयोजना तथा वर्ल्ड भिजनको सहयोगमा आयोजित तालिममा स्थानीय सरकारका बालअधिकार समितिका पदाधिकारी, बाल संरक्षणका क्षेत्रमा क्रियाशील सरोकारवाला निकायका प्रतिनिधि, शिक्षक, समाजसेवी, सञ्चारकर्मी तथा समुदायस्तरका विभिन्न व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
    तालिमका प्रशिक्षक प्रकाश उपाध्यायले बाल संरक्षण प्रणालीको अवधारणा र विकास, बालअधिकारसम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था, बाल संरक्षणका घटनाको व्यवस्थापन, सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा बाल संरक्षण सेवासम्बन्धी विविध विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, शोषण, दुर्व्यवहार तथा जोखिमका घटनालाई समयमै पहिचान गरी प्रभावकारी रूपमा अभिलेखीकरण र व्यवस्थापन गर्न सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
    कार्यक्रममा बाल संरक्षणसँग सम्बन्धित घटनाहरूको तथ्यांक संकलन, अभिलेखीकरण, सेवा प्रवाह तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप सुदृढ बनाउन सूचना व्यवस्थापन प्रणाली आवश्यक रहेको विषयमा विशेष जोड दिइएको थियो। आयोजकका अनुसार तालिमले स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै बाल संरक्षणका घटनाहरूको समयमै पहिचान, अभिलेखीकरण, अनुगमन तथा आवश्यक सेवा उपलब्ध गराउने प्रक्रियालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
    समापन कार्यक्रम जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चण्डिका प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै सामाजिक विकास समितिका संयोजक राम अचल धोबी, विपद् व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
    तालिममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह, बाल क्लबका पदाधिकारी, वडा सचिव, शिक्षक, समाजसेवी, सञ्चारकर्मी तथा जनप्रतिनिधिसहित ३० जना प्रशिक्षार्थी सहभागी भएका थिए।
    स्थानीय स्तरमै बालअधिकार संरक्षणका संयन्त्रलाई सुदृढ बनाउने, बालमैत्री सेवा प्रवाहलाई संस्थागत गर्ने तथा बाल संरक्षणका घटनाको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिम सहभागीहरूका लागि उपयोगी, ज्ञानवर्द्धक र उपलब्धिमूलक भएको जनाइएको छ। गाउँपालिकाले आगामी दिनमा समेत बालअधिकार संरक्षण र बालमैत्री शासन प्रवर्द्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • २८ जेष्ठ २०८३, बिहीबार ११:५० प्रकाशित

  • Nabintech