वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा, विद्यालयदेखि खेतबारीसम्म असुरक्षित महसुस

  • नमस्ते कर्णाली

  • बाँके ,३१ जेठ ।
    बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा पछिल्लो समय वन्यजन्तुको बढ्दो आवतजावतका कारण निरन्तर त्रासमा जीवन बिताउन बाध्य भएका छन्। बाघ, चितुवा, हात्ती, बँदेललगायत वन्यजन्तु बस्ती नजिकै पुग्न थालेपछि स्थानीयवासीको दैनिकी मात्र होइन, बालबालिकाको विद्यालय आवतजावत र किसानको खेतीपातीसमेत प्रभावित बन्न थालेको छ।
    यही समस्यालाई मध्यनजर गर्दै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने बबई गाउँपालिका–७ को तल्लो मलई गाउँस्थित विद्यालयमा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालालाई लक्षित गरी आयोजित कार्यक्रममा वन्यजन्तुको जोखिमबाट कसरी जोगिने, जङ्गल क्षेत्रमा जाँदा के–कस्ता सावधानी अपनाउने तथा वन्यजन्तुसँग आमनेसामने हुँदा कस्तो व्यवहार गर्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
    तल्लो मलईलगायत निकुञ्ज आसपासका बस्तीमा बसोबास गर्ने नागरिकले दैनिक रूपमा वन्यजन्तुको जोखिम सामना गर्नुपरेको स्थानीयहरू बताउँछन्। विद्यालय जाने आउने क्रममा बालबालिकाले जङ्गल नजिकका बाटो प्रयोग गर्नुपर्ने भएकाले अभिभावकहरू सधैं चिन्तित रहने गरेका छन्। त्यस्तै, खेतबारीमा काम गर्न जाने किसानहरू पनि वन्यजन्तुको डरले बिहान बेलुका एक्लै जान नसक्ने अवस्था रहेको स्थानीयको भनाइ छ। बँदेल र अन्य वन्यजन्तुले बाली नष्ट गर्ने समस्या समेत बढ्दै गएको उनीहरू बताउँछन्।
    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कडेलले निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आवतजावत भइरहने भएकाले समुदायलाई सचेत बनाउनु आवश्यक रहेको बताउनुभयो। संरक्षणलाई स्थानीय समुदायको समृद्धिसँग जोड्दै मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास छ।
    बबई गाउँपालिका–७ का वडाध्यक्ष तिलकराम भण्डारीले विद्यार्थीमार्फत वन्यजन्तु संरक्षण र सुरक्षासम्बन्धी सन्देश घरघरमा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्राथमिकता दिइने बताउनुभयो। उहाँले मध्यवर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्यालाई सम्बोधन गर्दै संरक्षण र सुरक्षालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
    देउराली माध्यमिक विद्यालयका शिक्षक एकराज रोकाले वन्यजन्तुबाट सुरक्षित रहने उपायबारे विद्यालय तहबाटै शिक्षा दिन सके विद्यार्थी मात्र नभई सम्पूर्ण समुदाय लाभान्वित हुने बताउनुभयो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि वन्यजन्तुको आनीबानी, जोखिम र सुरक्षाका उपायबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
    विद्यार्थी निशान बाठाले विद्यालयस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले वन्यजन्तुप्रति सकारात्मक सोच विकास गर्नुका साथै द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्दका घटना समय–समयमा दोहोरिने गरेका छन्। यस्ता घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति कम गर्न समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। विशेषगरी विद्यार्थीलाई संरक्षण अभियानसँग जोड्न सकिए उनीहरू परिवर्तनका संवाहक बन्ने र संरक्षणको सन्देश घरपरिवार तथा समुदायसम्म प्रभावकारी रूपमा फैलिने अपेक्षा गरिएको छ।
    मानव र वन्यजन्तुबीचको सह–अस्तित्वलाई व्यवहारमा उतार्न स्थानीय समुदाय, विद्यालय, जनप्रतिनिधि र निकुञ्ज प्रशासनबीचको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। उनीहरूका अनुसार संरक्षणसँगै स्थानीय नागरिकको सुरक्षा र जीविकोपार्जनलाई समेत समान रूपमा ध्यान दिन सके मात्र दीर्घकालीन रूपमा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण सम्भव हुनेछ।

  • ३१ जेष्ठ २०८३, आईतवार ०८:२५ प्रकाशित

  • Nabintech