हुलाकी राजमार्गको अलपत्र खण्ड विस्तार हुने, वर्षौँको प्रतीक्षापछि स्थानीयमा खुसी

  • नमस्ते कर्णाली

  • बाँके , १ असार।
    लामो समयदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गत बाँकेको नारायणपुरदेखि दाङ सीमास्थित खोकरी हासबाससम्मको सडक विस्तार हुने भएको छ। परियोजनाका लागि आवश्यक स्रोत सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढ्न थालेको हो। वर्षौँदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीय बासिन्दा भने अब सडक खुल्ने र आवागमन सहज हुने आशामा उत्साहित बनेका छन्।
    हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका अनुसार राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि राप्तीसोनारी गाउँपालिका–१ खोकरी हासबाससम्मको सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार दाङ, बाँके र बर्दिया खण्डमा पर्ने ७५ किलोमिटर सडक निर्माणका लागि २९ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भइसकेको छ।
    परियोजनाअन्तर्गत बाँके खण्डमा करिब ३६ किलोमिटर सडकको ट्र्याक खोल्नुपर्नेछ भने २० वटा पुल निर्माण गरिनेछ। त्यस्तै दाङ खण्डमा २२ किलोमिटर सडक र १७ वटा पुल निर्माण गरिने योजना रहेको छ।
    कार्यालय प्रमुख भण्डारीले ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै तीन वर्षभित्र दाङ, बाँके र बर्दिया खण्डको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार उक्त सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा काम गर्नेछ भने पूर्व–पश्चिम आवागमनलाई थप सहज बनाउँदै दुर्गम तथा पछाडि पारिएका बस्तीलाई विकासको मूलधारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ।
    परियोजनाअन्तर्गत करिब १५ किलोमिटर सडक घना वन क्षेत्रभित्र पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। १२ मिटर चौडा सडकमा ९ मिटर चौडाइमा कालोपत्र गरिनेछ। निर्देशनालयका अनुसार असार मसान्तसम्म सूचना प्रकाशन प्रक्रिया पूरा गरी आगामी असोज महिनादेखि निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ।
    वर्षौँदेखि सडक अभावका कारण यातायात, शिक्षा, स्वास्थ्य तथा कृषि उपजको ढुवानीमा समस्या भोग्दै आएका स्थानीयवासी स्रोत सुनिश्चित भएसँगै उत्साहित बनेका छन्। सडक निर्माण सम्पन्न भएपछि दुर्गम बस्तीका नागरिकलाई आवागमनमा सहजता हुने, स्थानीय उत्पादनले बजार पाउने तथा क्षेत्रीय विकासले गति लिने विश्वास गरिएको छ।
    यसैबीच, परियोजनाका लागि स्रोत सुनिश्चित भएपछि हुलाकी सडक आयोजना, स्थानीयवासी तथा पत्रकारहरूको टोलीले प्रस्तावित सडक खण्डको स्थलगत अनुगमन गरेको छ। कुसुमस्थित झोलुङ्गे पुल हुँदै भम्का र बैजापुरसम्मको प्रस्तावित मार्गको पैदल अवलोकन गरिएको स्थानीय गहेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।
    स्थानीयवासीले लामो समयदेखि रोकिएको सडक निर्माण प्रक्रिया अघि बढेकामा खुसी व्यक्त गर्दै तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

  • १ असार २०८३, सोमबार ०७:५९ प्रकाशित

  • Nabintech