क्षेत्रीय कारागार बाँकेमा कैदीबन्दीबीच झडप, ७ जना घाइते

  • नमस्ते कर्णाली

  • बाँके ,११ असार ।
    बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप हुँदा ७ जना घाइते भएका छन्। कारागारको बी–ब्लकमा भएको झडपपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि हाल सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
    प्राप्त जानकारी अनुसार कारागारको आन्तरिक प्रशासन व्यवस्थापनका लागि नियुक्त गरिने नाइके र चौकीदार पदको विषयलाई लिएर कैदीबन्दीबीच विवाद चर्किँदै गएको छ। नाइके तथा चौकीदार चयनको समय नजिकिँदै जाँदा विभिन्न समूहबीच शक्ति संघर्ष बढेको र त्यसकै परिणामस्वरूप झडप भएको बताइएको छ।
    झडपमा वर्तमान नाइके धर्मराज बुढासहित ७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको भेरी अस्पतालमा तथा अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। उपचारपछि सबै घाइते कारागारमै फर्किएको जनाइएको छ।
    घटनापछि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन कारागारबाट ४० जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ। बाँके प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ भने कारागारभित्रको सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको छ।
    कारागारभित्र नाइके र चौकीदार नियुक्तिलाई लिएर विवाद हुने क्रम नयाँ भने होइन। केही दिनअघि पनि बी–ब्लकमा यस्तै प्रकृतिको झडप भएको थियो। आफू वा आफ्नो पक्षका व्यक्तिलाई नेतृत्वदायी जिम्मेवारीमा स्थापित गराउने प्रयासका कारण बेला–बेलामा कैदीबन्दीबीच तनाव र झडप हुने गरेको स्रोतले जनाएको छ।
    कारागार प्रशासन र सुरक्षा निकायले यस्ता घटनाको पुनरावृत्ति रोक्न थप सतर्कता अपनाइएको बताएका छन्।

  • ११ असार २०८३, बिहीबार ०८:३६ प्रकाशित

  • Nabintech