बाँके ,२८ असार ।
खेलकुदले समाजलाई एकताबद्ध बनाउने, अनुशासित नागरिक तयार गर्ने तथा शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने निष्कर्षसहित नेपालगन्जमा ‘खेलकुदले बनाउने समाज’ विषयक विमर्श सम्पन्न भएको छ।
महेन्द्र पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा सहभागी खेलाडी, खेलकर्मी तथा विज्ञहरूले खेललाई केवल प्रतिस्पर्धाको माध्यम नभई सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, युवा नेतृत्व विकास र आर्थिक अवसर सिर्जनाको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमालले खेलकुदले अनुशासन सिकाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। उनले राजनीति र खेलबीच तुलना गर्दै खेलमा समयको मूल्य सर्वोपरि हुने उल्लेख गरे।
“राजनीतिमा ढिलो पुगे पनि मान्छे ठूलो मानिन्छ, तर खेलमा तोकिएको समयभन्दा पाँच मिनेट ढिलो भए वाकआउट हुन्छ,” उनले भने। आफू क्यान्सरबाट पीडित भए पनि खेलले सिकाएको सकारात्मक सोच र आत्मबलले रोगसँग लड्न ठूलो ऊर्जा दिएको अनुभव उनले सुनाए।
भारोत्तोलनका खेलाडी समसुद्दीन सिद्दिकीले खेलले स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताए। सुरेन्द्र हमाललाई देखेर आफूमा अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा जागेको स्मरण गर्दै उनले खेलमा अरूलाई तानेर होइन, आफू अघि बढेर सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे।
पूर्व राष्ट्रिय खेलाडी शान्ति सिंहले खेलकुदले महिलाको सशक्तीकरणमा ऐतिहासिक योगदान दिएको बताइन्। नेपालगन्जको पहिलो पुस्ताका महिला खेलाडीमध्ये एक रहेकी उनले सुरुआती समयमा महिलालाई खेलमा सहभागी हुन समाजले सहज रूपमा नस्वीकारेको स्मरण गरिन्। तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै महिलाले आफ्नो क्षमता प्रमाणित गरेपछि समाजको दृष्टिकोण परिवर्तन भएको र खेलले महिलालाई आर्थिक तथा सामाजिक रूपमा पनि सबल बनाएको उनको भनाइ थियो।
पत्रकार तथा नेपालगन्ज म्याराथनका संयोजक टीएस ठकुरीले विश्वका धेरै विकसित सहरको समृद्धिसँग खेलकुदको प्रत्यक्ष सम्बन्ध रहेको बताए। कतिपय सहरको विकास खेलकुदले अघि बढाएको हो वा समृद्धिले खेलकुदलाई विकास गरेको हो भन्ने छुट्याउनै कठिन हुने उल्लेख गर्दै उनले नेपालमा पनि खेललाई विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा राखे।
खेलाडीलाई सामाजिक सुरक्षाको माग
विमर्शका अधिकांश वक्ताले खेलाडीको भविष्य सुरक्षित नभएसम्म खेलकुद क्षेत्रको दिगो विकास सम्भव नहुने बताए। उनीहरूले खेल जीवनपछि रोजगारी, सामाजिक सुरक्षा र सम्मानजनक अवसर सुनिश्चित गर्न राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए।
खेलाडी बालकृष्ण चौधरीले सक्रिय खेल जीवनपछि धेरै खेलाडी भविष्यप्रति चिन्तित हुने अवस्था रहेको उल्लेख गर्दै खेल्न नसक्ने भएपछि प्रशिक्षक, व्यवस्थापक वा अन्य जिम्मेवारीमा अवसर सिर्जना गर्नुपर्ने बताए।
खेलसेवी रतनकुमार टण्डनले खेलाडीका लागि सामाजिक सुरक्षाको प्रत्याभूति नभएसम्म अभिभावक आफ्ना सन्तानलाई खेल क्षेत्रमा पठाउन हिच्किचाउने बताए। साथै देशभरका प्रतिभावान खेलाडी पहिचान गर्न नियमित रूपमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
नेपालगन्ज रंगशाला सञ्चालनमा ल्याउन जोड
कार्यक्रममा सहभागीहरूले करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको नेपालगन्ज रंगशालालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन राज्यले आवश्यक निर्णय गर्नुपर्ने माग गरेका छन्।
पूर्वमन्त्री हमालले रंगशाला कुन तहको सरकारको मातहत रहने भन्ने अन्योल अझै अन्त्य हुन नसक्नु दुःखद भएको बताए। उनले स्थानीय सरकारलाई जिम्मेवारी दिएर रंगशालालाई खेलाडीको अभ्यास र प्रतियोगिताका लागि खुला गर्नुपर्ने सुझाव दिए।
आठौं राष्ट्रिय खेलकुद आयोजना हुँदा तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष रहेका भीम ओलीले पनि रंगशालालाई चलायमान बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए। उनले खेल गतिविधि बढाउन राज्यलाई निरन्तर दबाब दिनुपर्नेमा जोड दिए।
यस अवसरमा पूर्व खेलाडी तथा खेल इतिहासका जानकार अजितकुमार शर्माले नेपालगन्जको खेलकुद इतिहासबारे प्रकाश पार्दै यहाँको खेल यात्रा कुस्तीबाट सुरु भएर अहिले व्यावसायिकतातर्फ अघि बढेको भए पनि अपेक्षित विकास हुन नसकेको बताए। बाँकेले देशलाई धेरै उत्कृष्ट खेलाडी दिएको र स्थानीय खेलप्रेमीहरूको निस्वार्थ योगदानले खेलकुदको जग बलियो बनेको उनको भनाइ थियो।
२१ खेलाडी तथा खेलकर्मी सम्मानित
कार्यक्रमकै अवसरमा महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिको आयोजना तथा जुमा स्पोर्ट्स क्लबको सहकार्यमा बाँकेका २१ जना खेलाडी तथा खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ।
सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, प्रदेशसभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलगायतको उपस्थिति रहेको थियो।
सम्मानित हुनेहरूमा रतनकुमार टण्डन, अशोकजंग थापा, अजितकुमार शर्मा, सुरेन्द्र बहादुर हमाल, सच्चिदानन्द चौबे, समसुद्दीन सिद्दिकी, पार्वती थापा, अनिता श्रेष्ठ, लेखबहादुर क्षेत्री, चन्द्रबहादुर गुरुङ, गोविन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, गोबर्धन सिंह, शान्ति सिंह क्षेत्री, विक्रमजंग थापा, जयन्तकुमार शर्मा, राजुराज शाही, टीएस ठकुरी, नेरी थापा, डा. प्रतिक श्रेष्ठ र सन्तोषकाजी शाक्य रहेका छन्।
पुस्तकालयका अनुसार सम्मानित व्यक्तित्वहरूले ओलम्पिक, दक्षिण एसियाली खेलकुद, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्नुका साथै खेल पूर्वाधार निर्माण, प्रशिक्षण, खेल प्रशासन, प्रतियोगिता आयोजना र खेल संस्कृतिको विकासमा दीर्घकालीन योगदान पुर्याएका कारण सम्मान गरिएको हो।










