बाँके ,१५ साउन ।
बाँकेमा अस्पतालको सङ्ख्या र उपचारका लागि आउने बिरामीको चाप निरन्तर बढ्दै जाँदा रगतको माग पनि उल्लेख्य रूपमा बढेको छ। मागअनुसार रगत उपलब्ध गराउन चुनौती थपिँदै गएपछि नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जले सबै स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरेको छ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार पछिल्लो समय रगतको माग अत्यधिक बढेकाले अधिकांश समय अभावको अवस्था सिर्जना हुने गरेको छ। बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि आउने प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास हुँदै गएकाले रगतको आवश्यकता पनि निरन्तर बढिरहेको उहाँले बताउनुभयो।
रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवसका अवसरमा सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमअन्तर्गत अछामी सेवा समाज बाँकेबाट ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरबाट ८१ पिन्ट तथा भेरी अस्पताल नेपालगञ्जको १३६औँ वार्षिकोत्सवका अवसरमा ३३ पिन्ट रगत सङ्कलन गरिएको प्रमुख रेग्मीले जानकारी दिनुभयो।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रमार्फत २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ। नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रका २२ वटा अस्पतालमा चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइएको केन्द्रले जनाएको छ।
बाँके जिल्ला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौँ बिरामी उपचारका लागि आउने प्रमुख गन्तव्य बन्दै गएकाले सुरक्षित तथा पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता वर्षेनी बढ्दै गएको केन्द्रको भनाइ छ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धनसिंह सम्झनाले स्वास्थ्य सेवा विस्तारसँगै जिल्लामा रगतको माग प्रत्येक वर्ष बढिरहेको बताउनुभयो।
“अस्पतालको सङ्ख्या र बिरामीको चाप दुवै बढेको छ। त्यसअनुसार रगतको आवश्यकता पनि दैनिक रूपमा बढिरहेको छ। यस्तो अवस्थामा स्वयंसेवी तथा संस्थागत रक्तदाताले पु¥याउँदै आएको योगदान अत्यन्तै महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो।
हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा इकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा इकाइमार्फत जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ।
रेडक्रसले रगतको अभाव हुन नदिन नियमित रक्तदानको संस्कृतिलाई थप सुदृढ गर्दै स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउने उद्देश्यले विभिन्न समयमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। केन्द्रले स्वस्थ नागरिकलाई नियमित रक्तदान गरी जीवन बचाउने अभियानमा सहभागी हुन पनि आग्रह गरेको छ।









