बाँके ,२० साउन ।
भेरी अस्पताल नेपालगञ्जमा करिब दुई वर्षदेखि प्राविधिक कारणले अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सञ्चालन भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीले अब विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान परीक्षण सहज, सुरक्षित र गुणस्तरीय रूपमा अस्पतालबाटै प्राप्त गर्न सक्ने भएका छन्।
सिटी स्क्यान सेवा पुनः सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धिताल, सिटी स्क्यान विभागका प्रमुख सञ्जीव मिश्रा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार अब आवश्यक परेका बिरामीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार अस्पतालबाटै सिटी स्क्यान सेवा लिन सक्नेछन्।
उहाँले भेरी अस्पताल जनविश्वासको केन्द्रका रूपमा स्थापित रहेकाले बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनु अस्पतालको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। सिटी स्क्यान सेवा पुनः सञ्चालनले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
अस्पतालका अनुसार सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामीले परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्नुपर्ने वा नेपालगञ्ज बाहिर जानुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ। यसले समयमै रोग पहिचान, उपचारको प्रभावकारिता वृद्धि तथा बिरामीको आर्थिक भार घटाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास अस्पतालको छ।
यसअघि करिब दुई वर्षसम्म सिटी स्क्यान सेवा बन्द रहँदा भेरी अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी निजी अस्पताल वा अन्य जिल्लाका स्वास्थ्य संस्थामा परीक्षण गराउन बाध्य थिए। सेवा पुनः सञ्चालन भएसँगै विशेषगरी आर्थिक रूपमा विपन्न तथा टाढादराजबाट आउने बिरामीले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।









