सुर्खेत,२९ साउन ।
संघीय सरकारले खेलकुद क्षेत्रको महाकुम्भका रूपमा लिइने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पाँचौँपटक तय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहीबार बसेको १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले प्रतियोगिताको नयाँ मिति प्रस्ताव गरेका थिए । यसअघि पटक–पटक मिति तोकिए पनि पूर्वाधार, बजेट तथा अन्य तयारीका कारण प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
दुई वर्षअघि गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहबाट दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी सुम्पिएका थिए ।
कर्णालीमा पहिलोपटक २०८१ मंसिर २ देखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने मिति तय गरिएको थियो । तर, प्रतियोगिताको उद्घाटनसहित अधिकांश खेल सञ्चालन हुने सुर्खेतको कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न हुन नसकेपछि उक्त मिति स्थगित भयो । त्यसपछि २०८१ चैत २३ देखि ३० र २०८२ जेठ ३ देखि १० गतेसम्म गरी दुईपटक मिति तोकिए पनि प्रतियोगिता हुन सकेन ।
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा भएको ढिलाइसँगै मौसमी प्रतिकूलता र सरकारी तयारीमा देखिएको सुस्तताका कारण राष्ट्रिय खेलकुद पटक–पटक सर्दै आएको हो ।
९९ प्रतिशत काम सकिए पनि रंगशाला अधुरै
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको प्रदेश रंगशाला कर्णालीको सबैभन्दा ठूलो खेल पूर्वाधार हो । तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २०७८ मंसिर २० गते रंगशालाको शिलान्यास गरेका थिए ।
एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको रंगशालाको जिम्मेवारी एमएसी–जीएसएल जेभीले पाएको थियो । सम्झौताअनुसार २०८१ जेठमै निर्माण सम्पन्न हुनुपर्ने भए पनि जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पलगायत कारणले निर्माण प्रभावित भएपछि समय थप गरिएको थियो ।
पहिलोपटक थपिएको समयसम्म रंगशालाको करिब ९९ प्रतिशत काम सम्पन्न भएको थियो । तर, भुक्तानी तथा बजेट व्यवस्थापनमा देखिएको समस्याका कारण बाँकी करिब एक प्रतिशत काम रोकिएको निर्माण व्यवसायीको दाबी छ । रंगशाला अझै औपचारिक रूपमा सरकारलाई हस्तान्तरण भइसकेको छैन ।
निर्माण व्यवसायीका अनुसार प्रवेशद्वारको पिज, केही रंगरोगनलगायतका सामान्य काम मात्रै बाँकी छन् । सरकारले आवश्यक भुक्तानी गरेमा बाँकी काम पूरा गरी रंगशाला हस्तान्तरण गर्न सकिने व्यवसायीको भनाइ छ ।
१२ खेलका लागि अत्याधुनिक पूर्वाधार
प्रदेश रंगशालामा फुटबल, एथलेटिक्स, भलिबल, बास्केटबल, ह्यान्डबल, पौडी, क्रिकेट, कबड्डी, खोखोलगायतका खेल सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । रंगशालामा दुईवटा कभर्ड हल, आउटडोर भलिबल कोर्ट, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, पार्किङसहितका संरचना निर्माण गरिएका छन् ।
फिफाको मापदण्डअनुसार १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान तथा करिब १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ । वर्षाका बेला मैदानमा जमेको पानी २० देखि २५ मिनेटभित्र सुक्ने प्रविधिसमेत जडान गरिएको छ ।
१५ सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्डहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने प्रकाश, साउन्ड सिस्टम, खेलाडीका चेन्जिङ रुम, वेटिङ रुम, फिजियो तथा मेडिकल कक्षलगायतका सुविधा राखिएका छन् ।
त्यस्तै, ४ सय मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ । यसमा हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । रंगशाला परिसरमा पौडी प्रतियोगिताका लागि आवश्यक संरचनासमेत निर्माण गरिएको छ ।
प्रदेश सरकारको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा आवश्यक रकम विनियोजन गरेको जनाएको छ । प्रतियोगिताका लागि पूर्वाधार विकासतर्फ ९ करोड रुपैयाँ र प्रतियोगिता आयोजनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, खेलाडीको बन्द प्रशिक्षण, प्रतियोगिताको पूर्वतयारी, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रदेश रंगशालाको सञ्चालन र व्यवस्थापनका लागि ३ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न थप ९ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ । प्रतियोगितालाई लक्षित गरी सुर्खेतको ठौरीमा क्रिकेट मैदान, दैलेखको दुल्लुमा चाखाबारी खेलमैदान, हुम्लामा हक्की रंगशाला तथा अधुरो कभर्डहल, सुर्खेतको चिसापानीमा फुटबल मैदान, रुकुम पश्चिमको सानीभेरीमा बेलटापु खेलमैदान र जाजरकोटको थाप्ले कभर्डहल निर्माणका लागि समेत बजेट छुट्याइएको छ ।
पाँचौँपटक तय भएको मितिअनुसार अब दशौँ राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा सञ्चालन हुनेछ । पटक–पटक मिति सर्दै आएको प्रतियोगिता यसपटक भने पूर्वाधार र व्यवस्थापनका बाँकी काम समयमै पूरा गरेर निर्धारित मितिमै सञ्चालन गर्ने चुनौती कर्णाली र संघीय सरकारसामु रहेको छ ।









