बाँके ,२० भदौ।
बिहानको पाँच बज्दै थियो। नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा चहलपहल सुरु भइसकेको थियो। कोही गन्तव्यतर्फ लाग्दै थिए, कोही पसल खोल्ने तयारीमा। यही भीडको एक छेउमा ६० वर्षीया चमारन केवट सालका पातका मुठा मिलाउँदै दुनाटपरी बनाउन व्यस्त हुनुहुन्थ्यो।
उमेरले ६० वर्ष पुग्न लागे पनि केवटको हातमा पुर्ख्यौली सीप अझै जीवित छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यही सीप अहिले उहाँको परिवारको चुलो बाल्ने आधार बनेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–८, महेन्द्र पार्कनजिकैको घसियारन टोलमा बस्दै आउनुभएकी केवट हरेक बिहान सालका पात बोकेर त्रिभुवन चोक पुग्नुहुन्छ। उहाँसँगै टोलका अन्य महिलाहरू पनि पात तथा पातबाट बनेका सामग्री बिक्री गर्न चोकमा आउने गर्छन्।
“पहिला घाँस बेचेर बच्चाहरू हुर्काएँ,” केवटले भन्नुभयो, “अहिले घाँस बिक्री हुन छोडेपछि पात बेचेर गुजारा चलाउँदै आएका छौँ।”
उहाँका छोराहरूले बिहान आमालाई पातको काममा सघाउँछन् भने दिउँसो फर्निचरको काम गरेर परिवारको आम्दानीमा हातेमालो गर्छन्। तर आम्दानी नियमित नहुँदा दैनिक आवश्यकता पूरा गर्न अझै कठिन छ।
“उब्जनी गर्ने जग्गा छैन। पेट पाल्नका लागि मजदुरी गर्नैपर्छ,” उहाँले भन्नुभयो।
१६–१७ किलोमिटर हिँडेर पात, आम्दानी मुस्किलले चार सय
सालको पात बिक्री गर्ने महिलाहरूका लागि यो काम देखिएजस्तो सहज छैन। घरदेखि जंगलसम्म पुग्ने, पात टिप्ने र बोकेर फर्किने क्रममा उनीहरूले दैनिक लामो दूरी पार गर्नुपर्छ। कतिपय महिला १६ देखि १७ किलोमिटरसम्म पैदल हिँडेर जंगल पुग्छन् र पात बोकेर फर्किन्छन्।
आफ्नै वन नहुँदा अर्काको सामुदायिक वनमा लुकीलुकी पात टिप्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। वन हेरालुले भेटे जरिवाना तिर्नुपर्ने अवस्था छ।
घसियारन टोलकै ४५ वर्षीया रेखा केवट पनि सालको पात बेचेरै परिवार चलाउँदै आउनुभएको छ। उहाँ शमशेरगञ्जबाट पात ल्याएर नेपालगञ्जमा बिक्री गर्नुहुन्छ।
“पात बिक्री भएपछि दिनमा तीनदेखि चार सय रुपैयाँसम्म आम्दानी हुन्छ,” रेखाले भन्नुभयो।
श्रीमान्को मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफूमाथि आएको उहाँले बताउनुभयो। पात बिक्रीबाट हुने आम्दानीले घरखर्चदेखि बालबालिकाको पढाइ र उपचारसम्म धान्नुपर्ने बाध्यता छ।
“आफ्नो वन छैन। अर्काको सामुदायिक वनमा गएर लुकिलुकी पात टिप्नुपर्छ,” उहाँले भन्नुभयो, “वन हेरालुले भेटाए जरिवाना तिर्नुपर्छ। धेरै पटक लुकेर पात टिप्दा कारबाहीमा परेका छौँ।”
उहाँका अनुसार पात टिपेको आरोपमा कहिलेकाहीँ एक सयदेखि पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ।
एक बिहानमा एक बोरा सालको पातबाट करिब चार सय रुपैयाँसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ। यही रकमबाट घरखर्च, बालबालिकाको पढाइ, उपचार, चाडपर्व र पाहुनाको सत्कारसम्म गर्नुपर्ने भएकाले बचत गर्न नसकिएको उहाँको गुनासो छ।
“दिनको चार सय रुपैयाँ जति कमाइले सबै कुरा चलाउनुपर्छ। बचत गर्नै पाइँदैन,” रेखाले भन्नुभयो, “छोराछोरीको भविष्यका लागि थोरै भए पनि पैसा जम्मा गरौँ भन्ने रहर छ, तर त्यो रहरमै सीमित हुन्छ।”
संकटमा पुर्ख्यौली पेशा
कुनै समय घाँस बेचेर जीविकोपार्जन गर्ने घसियार समुदायका महिलाका लागि अहिले घाँस पाउनै कठिन भएको छ। सहर विस्तार, खुला जमिनको कमी तथा पशुपालनको स्वरूपमा आएको परिवर्तनसँगै उनीहरूको पुर्ख्यौली पेशा संकटमा परेको छ।
घाँस बिक्री हुन छोडेपछि जंगलबाट सालको पात टिपेर ल्याउने र बिक्री गर्ने काम उनीहरूको वैकल्पिक जीविकोपार्जन बनेको छ।
त्रिभुवन चोकमा बिहानै करिब सात जना महिला सालको पात बिक्री गर्न आउने गर्छन्। उनीहरूले पातका मुठा मात्र बिक्री गर्दैनन्, ग्राहकको मागअनुसार दुनाटपरी, टपरीलगायत सामग्रीसमेत हातैले तयार पारेर बिक्री गर्छन्। एउटा मुठा सालको पात करिब ३० रुपैयाँमा बिक्री हुने उनीहरू बताउँछन्।
वर्षायाममा जंगल गएर पात टिप्न कठिन हुने भएकाले केही महिना यो काम प्रभावित हुन्छ। वर्षा सकिएपछि भने त्रिभुवन चोकमा पुनः बिहानै सालका पातका मुठा देखिन थाल्छन्।
सीप छ, बजार छैन; श्रम छ, सहारा छैन
सालको पातबाट तयार हुने दुनाटपरी तथा टपरी वातावरणमैत्री सामग्री हुन्। प्लास्टिक तथा अन्य कृत्रिम सामग्रीको प्रयोग घटाउने अभियानमा यस्ता स्थानीय उत्पादनले महत्वपूर्ण योगदान दिन सक्छन्।
तर यिनै सामग्री बनाउने महिलाहरू भने राज्यको प्राथमिकतामा पर्न सकेका छैनन्। स्थानीय स्रोतसाधनमा आधारित पुर्ख्यौली सीपलाई संरक्षण गर्दै व्यावसायिक बनाउन सकिने सम्भावना भए पनि उनीहरूका लागि पर्याप्त तालिम, कच्चा पदार्थको सहज उपलब्धता र बजारको सुनिश्चितता छैन।
जंगलबाट पात ल्याउने क्रममा सामुदायिक वनसँगको समन्वयको अभावले उनीहरू थप समस्यामा पर्ने गरेका छन्। जीविकोपार्जनका लागि वनमा निर्भर समुदायलाई संरक्षण र उपयोगबीच सन्तुलन मिलाउने गरी व्यवहारिक नीति आवश्यक देखिन्छ।
उनीहरूको माग पनि ठूलो छैन—आफ्नो सीपलाई निरन्तरता दिन पाउने वातावरण, सहज रूपमा कच्चा पदार्थ पाउने व्यवस्था, उत्पादनको उचित मूल्य र सीपलाई आयआर्जनको भरपर्दो माध्यम बनाउन सहयोग।
सामुदायिक वनसँग समन्वय, सीप विकास, सहुलियतपूर्ण ऋण, उत्पादनको बजारीकरण र वातावरणमैत्री सामग्रीको प्रवर्द्धनमा ठोस कार्यक्रम ल्याउन सके त्रिभुवन चोकमा पात बेच्ने यी हातहरू आफ्नै सानो उद्यमका मालिक बन्न सक्छन्।
पातका मुठामा लुकेको संघर्ष
चमारन केवटको उमेर बढेको छ, तर संघर्ष रोकिएको छैन। बिहान पाँच बजे त्रिभुवन चोकमा बसेर सालको पातबाट टपरी खुट्ने उहाँका हातमा अनुभव छ, सीप छ र मेहनत गर्ने आँट पनि छ। अभाव छ त केवल त्यस सीपलाई अवसरमा बदल्ने साथको।
कुनै समय घाँसको भारी बोकेर बजार आउने उहाँजस्ता महिलाहरू आज सालको पातको भारी बोकेर सडकछेउमा बस्न बाध्य छन्। पुर्ख्यौली पेशा हराउँदै गएपछि जीविकोपार्जनको अर्को बाटो रोजेका उनीहरूको नयाँ पेशा पनि सुरक्षित र निश्चित छैन।
त्रिभुवन चोकमा बिहानै बिक्रीका लागि राखिएका सालका पातका मुठा र हातैले बनाइएका दुनाटपरी केवल व्यापारका सामग्री होइनन्। ती मुठामा घसियारन महिलाहरूको पसिना, सीप, संघर्ष र बाँच्ने चाहना गाँसिएको छ।
घाँस बेच्ने पुर्ख्यौली पेशा हराउँदै गएपछि पात बेचेर जीवन धानिरहेका चमारन र रेखाजस्ता महिलाको कथा एउटा परिवारको मात्र कथा होइन। यो बदलिँदो समाजमा सीमान्तकृत श्रमिक समुदायले भोगिरहेको जीविकोपार्जनको संकटको कथा पनि हो।
प्रश्न एउटै छ—पुर्ख्यौली सीप बोकेर सडकमा बसेका यी मेहनती हातहरूलाई राज्यले कहिले अवसरको हात थामिदिने?










