बाँके,१२ असोज ।
बाँकेमा बुधबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण पाकेर काट्ने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानमा पाकेको धान खेतमै ढलेपछि किसान चिन्तित भएका छन्। केही दिनमै धान भित्र्याउने तयारी गरेका किसान वर्षा नरोकिएपछि थप क्षति हुने चिन्तामा छन्।
राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका किसान लोकबहादुर चौधरीले करिब १० कट्ठा क्षेत्रफलमा लगाएको ‘६०६’ जातको मोटो धान खेतमै ढलेको बताउनुभयो। काट्ने तयारीमा रहेको धान लगातारको वर्षाले ढलाएपछि अब खेतमै उम्रिने हो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ छ।
‘केही दिनमा धान काटेर भित्र्याउने तयारीमा थियौँ। तर, लगातार पानी परेपछि पाकेको धान सबै खेतमा ढलेको छ,’ चौधरीले भन्नुभयो, ‘अहिले पानी परिरहेकाले खेतमा गएर काट्न पनि सकिएको छैन। ढलेको धान खेतमै उम्रिएर नोक्सान हुने हो कि भन्ने डर छ।’
धान ढलेपछि काट्न र सुकाउन समस्या हुने भएकाले आफूहरू थप मारमा परेको उहाँले बताउनुभयो। समयमै धान काट्न नसक्दा उत्पादन घट्नुका साथै खेतमै उम्रिएमा ठूलो क्षति व्यहोर्नुपर्ने किसानहरूको गुनासो छ।
चौधरीजस्तै राप्तीसोनारीको ढकेरी आसपासका अन्य किसानको धानबालीमा पनि वर्षाले क्षति पुर्याएको छ। खजुरा गाउँपालिकाका विभिन्न स्थानमा समेत पाकेको धान खेतमै ढलेको किसानहरूले बताएका छन्। वर्षा अझै नरोकिए ढलेको धानमा थप क्षति हुने र खेतमा पानी जम्दा काट्नसमेत समस्या हुने किसानहरूको भनाइ छ।
किसानहरूले पाकेको धान भित्र्याउने बेलामै लगातार वर्षा हुँदा वर्षभरको मेहनत जोखिममा परेको गुनासो गरेका छन्। कतिपय किसानले धान काट्ने मजदुर र मेसिनको व्यवस्था गरिसके पनि पानीका कारण खेतमा पस्न नसकिएको बताएका छन्। काट्नै लागेका बेला धान ढलेपछि लागतसमेत नउठ्ने अवस्था आउन सक्ने उनीहरूको चिन्ता छ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण केही दिनभित्र संकलन गरिने बताउनुभयो। उहाँका अनुसार मलको अभावका कारण गाँज कम लागेको तथा राधा–४ लगायतका मोटो जातका धान ढल्ने सम्भावना बढी हुन्छ।
‘अहिले वर्षा भइरहेकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिन छ। केही दिनपछि स्थानीय तहसँग समन्वय गरेर विवरण संकलन गरिनेछ,’ शर्माले भन्नुभयो, ‘क्षतिको यकिन विवरण आएपछि मात्र जिल्लामा भएको वास्तविक क्षतिको अवस्था थाहा हुन्छ।’
ज्ञान केन्द्रले वर्षाबाट धानबालीमा भएको क्षतिको विवरण संकलन गर्न जिल्लाका स्थानीय तहहरूलाई समेत आग्रह गरेको छ। वर्षा रोकिएपछि खेतमा पुगेर क्षतिको अवस्था हेर्ने र आवश्यक विवरण संकलन गरिने केन्द्रले जनाएको छ।
यसैबीच, निरन्तरको वर्षाका कारण बाढी, डुबान तथा अन्य वर्षाजन्य विपद्बाट बालीनाली र पशुपन्छीमा हुन सक्ने क्षति न्यूनीकरणका लागि खजुरा गाउँपालिकाले किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले सूचना जारी गर्दै बाढी तथा डुबानको जोखिम भएका स्थानमा रहेका पशुपन्छीलाई समयमै सुरक्षित र अग्लो स्थानमा सार्न आग्रह गर्नुभएको छ। गोठको अवस्था जाँच गरी पानीको निकास मिलाउन तथा सुक्खा घाँस, दाना, पराल र सफा खानेपानी सुरक्षित रूपमा भण्डारण गर्न पनि पालिकाले अनुरोध गरेको छ।
त्यस्तै, दूषित पानी तथा कुहिएको दाना पशुपन्छीलाई नखुवाउन, विद्युतीय तारबाट टाढा राख्न र बिरामी पशुपन्छी देखिए तत्काल पशु सेवा शाखामा सम्पर्क गर्न गाउँपालिकाले किसानलाई आग्रह गरेको छ।
लगातारको वर्षाले एकातर्फ पाकेको धान खेतमै ढलेर किसानलाई चिन्तित बनाएको छ भने अर्कोतर्फ बाढी तथा डुबानको जोखिम बढाएको छ। वर्षा केही दिन अझै जारी रहेमा काट्ने तयारीमा रहेको धान, तरकारी तथा अन्य बालीमा समेत थप क्षति हुन सक्ने भएकाले किसानले समयमै सुरक्षित उपाय अपनाउनुपर्ने अवस्था देखिएको छ।









