मिक्सर र मिलको बढ्दो प्रयोगले संकटमा कुचबधियाको पुख्र्यौली पेसा

  • नमस्ते कर्णाली

  • बाँके ,१६ असोज ।
    आधुनिक प्रविधिको विकास र घर–घरमा मिक्सर तथा मिलको प्रयोग बढ्दै गएपछि बाँकेको लोपोन्मुख कुचबधिया–पत्थरकट्टा समुदायको पुख्र्यौली पेसा संकटमा पर्न थालेको छ। पुस्तौँदेखि सिलौटा, जाँतो र सनपाटका डोरी बनाएर बिक्री गर्दै आएका समुदायका सदस्यले अहिले बजार नपाउँदा पुख्र्यौली पेसा छाडेर मजदुरी गर्न बाध्य हुन थालेका छन्।
    बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर निवासी अर्जुन कुचबधियाका अनुसार आधुनिक उपकरणको प्रयोग बढेपछि सिलौटा र जाँतोको माग घट्दै गएको छ। उहाँले पुख्र्यौली पेसाबाट आम्दानी हुन छाडेपछि परिवार पाल्नसमेत कठिन हुँदै गएको बताउनुभयो।
    ‘हाम्रो पुख्र्यौली पेसा सिलौटा, जाँतो र सनडोरीको व्यापार हो, तर अहिले बिक्री नै हुँदैन,’ उहाँले भन्नुभयो, ‘घर–घरमा मिक्सर चल्न थालेपछि सिलौटा र जाँतो किन्न आउने ग्राहक निकै कम भएका छन्।’
    सिलौटा र जाँतो बनाउन आवश्यक ढुङ्गा लगायतका कच्चा पदार्थसमेत भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। भारतबाट कच्चा पदार्थ ल्याउँदा भन्सार नाकामा विभिन्न समस्या झेल्नुपरेको उहाँको भनाइ छ।
    कच्चा पदार्थको अभावसँगै तयार गरिएका सामग्रीले बजार नपाएपछि समुदायका युवापुस्ता पुख्र्यौली पेसाबाट टाढिँदै गएको छ। रोजगारीको खोजीमा युवाहरू सहर पस्ने र मजदुरी गर्न थाल्ने क्रम बढेको स्थानीयको भनाइ छ।
    कुचबधिया बस्तीकी मीना कुचबधियाले अहिले सिलौटा र जाँतो बेच्न गाउँ–गाउँ डुल्दा पनि ग्राहक पाउन कठिन हुने बताउनुभयो।
    ‘हिजोआज सिलौटा र जाँतो बिक्री हुँदैन। सबैले मसला पिस्न मिक्सर छ भन्छन्,’ उहाँले भन्नुभयो, ‘सामान बोकेर गाउँ–गाउँ डुल्दा पनि कहिलेकाहीँ रित्तो हात फर्कनुपर्छ।’
    कुचबधिया समुदायका पुरुषहरू सिलौटा र जाँतो बनाएर बिक्री गर्ने तथा महिलाहरू घरघरमा पुगेर पुराना सिलौटा र जाँतो खोप्ने काम गर्दै आएका छन्। तर यसबाट प्राप्त आम्दानी निकै न्यून हुँदा दैनिक गुजारा चलाउनसमेत समस्या हुने गरेको उहाँले बताउनुभयो।
    महिलाहरू दिनभरि गाउँघर डुलेर पुरानो सिलौटा र जाँतो खोपेबापत नगदको सट्टा चामल, दाललगायत खाद्यान्न पाउने गर्छन्। यसरी प्राप्त हुने खाद्यान्नले परिवारको दैनिक आवश्यकता पूरा गर्नसमेत कठिन हुने गरेको स्थानीयको भनाइ छ।
    इन्द्रपुरस्थित कुचबधिया बस्तीका अगुवा पटवारी कुचबधियाले पुख्र्यौली पेसाबाट आम्दानी हुन छाडेपछि नयाँ पुस्ता मजदुरीतर्फ आकर्षित भएको बताउनुभयो।
    ‘जाँतोको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्सर उपलब्ध भयो। सनपाटका डोरीको ठाउँमा प्लास्टिकका डोरी प्रयोग हुन थाले,’ उहाँले भन्नुभयो, ‘हामीले मेहनत गरेर बनाएका सामग्रीको मूल्य र महत्व बुझ्ने ग्राहक नै पाउन मुस्किल छ। त्यसैले हाम्रो पेसा बन्द हुने अवस्थामा पुगेको छ।’
    उहाँका अनुसार सिलौटा र जाँतो बनाउन आवश्यक ढुङ्गा नेपालमा सहज रूपमा उपलब्ध नहुने भएकाले भारतको बहराइचबाट ल्याउनुपर्छ। ढुङ्गा खरिद गरेर ल्याएपछि त्यसलाई काँटछाँट गरी मेहनतका साथ सिलौटा र जाँतोको आकार दिइन्छ। तर लामो समय र मेहनत लगाएर तयार पारिएका सामग्री गाउँ–गाउँ पुर्‍याउँदा पनि बिक्री नहुने समस्या छ।
    एउटा सिलौटा बनाउन प्रयोग हुने ढुङ्गाका लागि भारतीय रुपैयाँ १५० सम्म खर्च हुने गरेको उहाँले बताउनुभयो। त्यसलाई तयार पारिसकेपछि चारदेखि पाँच सय रुपैयाँमा बिक्री गर्नसमेत कठिन हुने गरेको उहाँको भनाइ छ।
    पुख्र्यौली पेसा संकटमा परेसँगै समुदायका कतिपय परिवार अहिले सामाजिक सुरक्षा भत्तामा समेत निर्भर हुन थालेका छन्। जनजातिभित्रको लोपोन्मुख जातिका रूपमा रहेको कुचबधिया–पत्थरकट्टा समुदायका सदस्यले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्।
    जानकी गाउँपालिका–३ का वडा सचिव लालबहादुर रानाका अनुसार इन्द्रपुरस्थित कुचबधिया बस्तीका दुई सय ७५ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। उहाँका अनुसार बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुर, नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रा र नेपालगन्ज–२० गायत्रीनगरमा कुचबधिया समुदायको बसोबास रहेको छ।
    विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा कुचबधिया–पत्थरकट्टा समुदायको जनसङ्ख्या तीन हजार तीन सय ४३ रहेको छ।
    परम्परागत सीप, संस्कृति र पेसासँग जोडिएको कुचबधिया समुदायको जीवनशैली आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै परिवर्तन हुँदै गएको छ। पुख्र्यौली सीप र व्यवसायलाई संरक्षण गर्दै समुदायलाई वैकल्पिक रोजगारी तथा सीप विकाससँग जोड्न नसके आगामी पुस्ताबाट परम्परागत पेसा पूर्णरूपमा हराउने जोखिम देखिएको स्थानीयको भनाइ छ।

  • १६ आश्विन २०८३, शुक्रबार ०७:०८ प्रकाशित

  • Nabintech