बेतबासको सीपले बदलिँदै अपाङ्गता भएका व्यक्तिको जीवनको आशा

  • नमस्ते कर्णाली

  • बर्दिया ,१७ असोज ।
    हातमा सीप भयो भने अवसरको खोजी गर्न धेरै टाढा जानुपर्दैन। घरआँगनमै उपलब्ध स्रोत–साधनलाई उपयोग गरेर सीप सिक्न सकियो भने त्यही सीप आम्दानीको माध्यम बन्न सक्छ। यही आशा बोकेर बर्दियाका अपाङ्गता भएका व्यक्तिहरू अहिले बेतबासबाट विभिन्न सामग्री बनाउने सीप सिकिरहेका छन्।
    कुनै समय अरूको सहयोग र सहारामा निर्भर हुनुपर्ने अवस्था भए पनि अहिले आफ्नै हातले केही उत्पादन गर्न सक्ने भएपछि उनीहरूमा आत्मविश्वास बढ्दै गएको छ। बेतबासका मसिना चोयालाई आकार दिँदै मुढा, कुर्सी, फुलदानी, र्‍याकलगायतका सामग्री बनाउन सिकिरहेका उनीहरू सीपसँगै स्वरोजगार बन्ने बाटो खोजिरहेका छन्।
    “सीप सिकेपछि आफैँले बनाएको सामग्री बिक्री गरेर आम्दानी गर्न सकिए जीवन चलाउन सहज हुन्छ भन्ने आशा जागेको छ,” तालिममा सहभागी नीता शर्माको भनाइ छ। पहिलोपटक प्रत्यक्ष रूपमा आयआर्जनसँग जोडिन सक्ने सीप सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ। तालिमबाट सिकेको सीपलाई घरमै निरन्तर अभ्यास गर्दै सामग्री उत्पादन गर्ने र त्यसबाट आम्दानी गर्ने उहाँको योजना छ।
    बर्दियाको बढैयाताल गाउँपालिका–८ मा अहिले २० जना अपाङ्गता भएका व्यक्ति बेतबासबाट विभिन्न सामग्री बनाउने अभ्यासमा व्यस्त छन्। बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रको आयोजना, आरआरएनको आर्थिक सहयोग तथा बढैयाताल गाउँपालिकाको समन्वयमा २१ दिने तालिम सञ्चालन भइरहेको हो।
    तालिममा सहभागीलाई स्थानीयस्तरमै सहज रूपमा उपलब्ध हुने बेतबासको प्रयोग गरी भान्से मुढा, साधारण मुढा, कुर्सी, फुलदानी, र्‍याकलगायतका सामग्री निर्माण गर्न सिकाइँदैछ। सीप सिकाउने मात्र नभई सहभागीलाई आफैँ सामग्री तयार गर्न सक्ने बनाउने उद्देश्यले अभ्यासलाई प्राथमिकता दिइएको छ।
    तालिममा सहभागीहरू बेतबास काट्ने, चोया तयार गर्ने, त्यसलाई मिलाउनेदेखि विभिन्न आकारका सामग्री तयार गर्नेसम्मका काम सिकिरहेका छन्। सुरुमा अप्ठ्यारो लागे पनि निरन्तर अभ्यासपछि हात चल्न थालेको र आफूले बनाएको सामग्री हेर्दा आत्मविश्वास बढ्ने गरेको सहभागीहरू बताउँछन्।


    तालिमका प्रशिक्षक वीरबहादुर खड्काका अनुसार सहभागीहरूले निकै उत्साहका साथ सीप सिकिरहेका छन्। अपाङ्गता भएका व्यक्तिहरूलाई सीप सिकाउन र अभ्यास गराउन सामान्यभन्दा केही बढी समय लाग्ने भए पनि तालिम अवधिमा उनीहरूलाई कम्तीमा पाँचदेखि सात प्रकारका सामग्री बनाउन सक्ने गरी अभ्यास गराइरहेको उहाँ बताउनुहुन्छ।
    “सुरुमा केही कठिनाइ भए पनि सहभागीहरू सिक्ने इच्छाका साथ निरन्तर अभ्यास गरिरहेका छन्। तालिमको अन्त्यसम्म विभिन्न प्रकारका सामग्री आफैँ बनाउन सक्ने बनाउने लक्ष्य छ,” प्रशिक्षक खड्का भन्नुहुन्छ।
    सीप सिक्नु उनीहरूका लागि केवल एउटा तालिम पूरा गर्नु मात्र होइन, जीवनमा नयाँ सम्भावनाको ढोका खोल्नु पनि हो। अरूले दिएको सहयोगमा मात्र निर्भर हुनुभन्दा आफ्नो क्षमताअनुसार काम गरेर केही आम्दानी गर्न सके दैनिक जीवनयापन सहज हुने उनीहरूको विश्वास छ।
    राष्ट्रिय जनगणना २०७८ अनुसार बर्दिया जिल्लामा १४ हजार ८ सय ३९ जना अपाङ्गता भएका व्यक्ति छन्। ठूलो संख्यामा रहेका उनीहरूलाई सीप, रोजगारी र आयआर्जनका अवसरसँग जोड्न सके आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने सरोकारवालाहरूको भनाइ छ।
    अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताअनुसारको सीप र अवसर उपलब्ध गराउन सके उनीहरू आफैँ पनि उत्पादन र आर्थिक गतिविधिको हिस्सा बन्न सक्ने देखिन्छ। त्यसैलाई ध्यानमा राखेर जिल्लाका आठवटै स्थानीय तहका अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी चरणबद्ध रूपमा सीपमूलक तालिम सञ्चालन गर्ने योजना बनाइएको आयोजकले जनाएको छ।
    आयोजकका अनुसार पहिलो चरणमा चारवटा स्थानीय तह र दोस्रो चरणमा बाँकी चारवटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न प्रकारका सीप प्रदान गर्ने योजना छ।
    बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाका अनुसार स्थानीयस्तरमा उपलब्ध स्रोत–साधनको प्रयोग गरी सामग्री उत्पादन गर्ने, उत्पादित सामग्री बिक्री गर्ने र त्यसलाई आम्दानीसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
    “अपाङ्गता भएका व्यक्तिलाई सहयोग र सहानुभूति मात्रै होइन, उनीहरूको क्षमता र सीपलाई अवसरसँग जोड्न आवश्यक छ,” अध्यक्ष सापकोटा भन्नुहुन्छ। स्थानीय स्रोत–साधनबाट उत्पादन गर्न सकिने सामग्रीको सीप प्रदान गरेर उनीहरूलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ।
    बेतबासजस्तो स्थानीय स्रोतबाट उत्पादन हुने सामग्रीको माग गाउँघरदेखि बजारसम्म रहेकाले सीपलाई व्यवसायसँग जोड्न सके घरमै बसेर पनि आम्दानी गर्न सकिने सम्भावना छ। यसले रोजगारीका लागि बाहिर जान नसक्ने वा विभिन्न कारणले औपचारिक रोजगारीमा जोडिन कठिन हुने अपाङ्गता भएका व्यक्तिका लागि वैकल्पिक आयआर्जनको बाटो खोल्न सक्छ।
    तर तालिम सकिएपछि चुनौती पनि कम छैन। सिकेको सीपलाई दिगो आम्दानीमा परिणत गर्न नियमित अभ्याससँगै कच्चा पदार्थको सहज उपलब्धता, उत्पादनको गुणस्तर, आवश्यक उपकरण, बजारको पहुँच र उत्पादित सामग्रीको बजारीकरणमा सहयोग आवश्यक देखिन्छ। सीप सिकाएर मात्र छाड्नेभन्दा उत्पादन र बिक्रीसम्मको शृङ्खलासँग जोड्न सके तालिमको प्रभाव अझ दीर्घकालीन बन्न सक्छ।
    अहिले तालिमस्थलमा बेतबासका चोया मिलाउँदै गरेका सहभागीका हातमा केवल सामग्रीको आकार फेरिँदै छैन, उनीहरूको जीवनप्रतिको दृष्टिकोण पनि बदलिँदै गएको छ। आफ्नै हातले बनाएको मुढा, कुर्सी वा फुलदानी हेर्दा उनीहरूमा “हामी पनि केही गर्न सक्छौँ” भन्ने आत्मविश्वास बढिरहेको छ।
    यस अर्थमा बर्दियामा सञ्चालन भइरहेको बेतबासका सामग्री बनाउने तालिम अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउने सामान्य कार्यक्रमभन्दा फरक देखिन्छ। यो उनीहरूलाई उत्पादन, आयआर्जन र आत्मनिर्भरतासँग जोड्ने एउटा प्रयास हो। सिकेको सीपलाई निरन्तर अभ्यास, उत्पादन र बजारसँग जोड्न सकिए बेतबासका चोयाबाट बनेका सामग्रीसँगै उनीहरूको जीवनमा पनि आत्मनिर्भर बन्ने नयाँ बाटो बुन्न सकिनेछ।

  • १७ आश्विन २०८३, शनिबार ०८:४० प्रकाशित

  • Nabintech