चितुवाको आक्रमण र हराउने क्रमले खैरापुरका कृष्णसार संकटमा

  • नमस्ते कर्णाली

  • बर्दिया,२१ असोज ।
    मुलुकमा दुर्लभ वन्यजन्तुका रूपमा सूचीकृत कृष्णसारको प्रमुख बासस्थान बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा यसको संख्या घट्दै गएको छ। संरक्षण क्षेत्रभित्रै कृष्णसारको मृत्यु हुने र हराउने क्रम बढेपछि यसको संरक्षणमा चुनौती थपिएको छ।

    पछिल्लो १५ महिनामा मात्रै ३४ वटा कृष्णसार मरेका छन् भने २० वटा कृष्णसारको अत्तोपत्तो लागेको छैन। संरक्षण क्षेत्रमा सबैभन्दा बढी कृष्णसार चितुवाको आक्रमणबाट मारिएका छन्। त्यसबाहेक कुकुरको आक्रमण र प्राकृतिक कारणले समेत कृष्णसारको मृत्यु हुने गरेको संरक्षण क्षेत्रको तथ्यांकले देखाएको छ।

    कृष्णसार संरक्षण क्षेत्र खैरापुरका प्रमुख भोजराज पन्थका अनुसार हराएका २० वटा कृष्णसार चितुवाले आक्रमण गरी मारेपछि बाहिर लगेर खाएको हुन सक्ने आशंका गरिएको छ। तर हराएका कृष्णसारको कुनै अंगसमेत फेला नपरेकाले यकिन अवस्था भने खुल्न नसकेको उहाँले बताउनुभयो।

    पछिल्लो गणनाअनुसार संरक्षण क्षेत्रमा कृष्णसारको संख्या घटेर २ सय १० मा पुगेको छ। गत आर्थिक वर्षमा भाले ७५, पोथी १ सय ४९ र बच्चा १८ गरी कुल २ सय ४२ वटा कृष्णसार थिए। चालु आर्थिक वर्षको साउनदेखि संख्या घटेर अहिले भाले ५८, पोथी १ सय ४० र बच्चा १२ वटा मात्रै रहेका छन्।

    गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट १२ वटा, हुँडारको आक्रमणबाट एउटा, कुकुरको आक्रमणबाट सात वटा र प्राकृतिक कारणले २२ वटा कृष्णसार मृत अवस्थामा फेला परेका थिए। चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट आठ वटा, कुकुरबाट तीन वटा र प्राकृतिक कारणले एउटा गरी थप १२ वटा कृष्णसार मरेका छन्।

    संरक्षण क्षेत्रमा चितुवाको बढ्दो उपस्थितिले कृष्णसार संरक्षणमा थप चुनौती सिर्जना गरेको छ। कृष्णसारका लागि सुरक्षित मानिएको क्षेत्र आसपासका सामुदायिक वनमा समेत चितुवाको आवतजावत बढेको संरक्षणकर्मीहरूको भनाइ छ। संरक्षण क्षेत्रनजिकैका सामुदायिक वनमा अहिले चारदेखि पाँच वटासम्म चितुवा रहेको अनुमान गरिएको छ।

    यसैबीच, सोमबार एउटा भाले चितुवा कृष्णसार संरक्षण क्षेत्रमा राखिएको खोरमा परेपछि नियन्त्रणमा लिइएको छ। गत जेठ २९ गतेयता मात्रै यस क्षेत्रबाट चार वटा चितुवा नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको संरक्षण क्षेत्रले जनाएको छ।

    यसअघि पनि प्राकृतिक विपद्का कारण कृष्णसारले ठूलो क्षति व्यहोर्नुपरेको थियो। २०७१ साल साउन २८ गते बबई नदीमा आएको बाढीले ४० वटा कृष्णसार बगाएको थियो। बाढी, वन्यजन्तुको आक्रमण, कुकुरको जोखिम तथा अन्य कारणले कृष्णसारको संख्या प्रभावित हुँदै आएको छ।

    कृष्णसार संरक्षणका लागि यसको बासस्थान सुरक्षित बनाउने, शिकारी वन्यजन्तुको व्यवस्थापन गर्ने तथा संरक्षण क्षेत्र आसपासका समुदायसँग समन्वय बढाउने आवश्यकता देखिएको छ। दुर्लभ वन्यजन्तुका रूपमा रहेको कृष्णसारको संख्या निरन्तर घट्दै गए संरक्षण क्षेत्रमा यसको दीर्घकालीन अस्तित्वमै असर पर्न सक्ने भएकाले संरक्षण निकायले जोखिम न्यूनीकरणमा थप ध्यान दिनुपर्ने देखिएको छ।

  • २१ आश्विन २०८३, बुधबार १९:३३ प्रकाशित

  • Nabintech