युवा उद्यमशीलता प्रवर्द्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

  • नमस्ते कर्णाली

  • बाँके,२५ असोज ।

    युवा उद्यमशीलताको प्रवर्द्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने उद्देश्यले बाँके युनेस्को क्लबले आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। अभिमुखीकरणसँगै परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको छ।
    प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना–२ अन्तर्गत अभिमुखीकरण तथा स्थलगत अवलोकन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ।


    अभिमुखीकरणमा परियोजना कार्यान्वयनलाई गुणस्तरीय, पारदर्शी र जवाफदेही बनाउन आवश्यक विषयमा छलफल गरिएको थियो। प्रभावकारी समन्वय, उचित अभिलेखीकरण, नियमित अनुगमन, बालबालिका तथा अन्य सहभागीको सुरक्षा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र वातावरणीय दिगोपनलाई प्राथमिकता दिइएको थियो।
    त्यसैगरी, स्वीकृत परियोजना दस्तावेज तथा संस्थागत मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धिमा जोड दिइएको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुँवर र कार्यक्रम विशेषज्ञ दुर्गाकुमारी क्षेत्रीले गर्नुभएको थियो।
    कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक परामर्शदाता बिनय दिल लामा, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, वित्त, प्रशासन तथा सञ्चालन व्यवस्थापन प्रतिनिधि बेदप्रसाद पंगाली, सदस्य शंकरसिंह थारु, कार्यक्रम संयोजक राधे चौधरी, परियोजना अधिकृत होमप्रसाद चौधरी तथा कर्मचारी सुनीता चौधरी र सिर्जना चौधरीलगायतको सहभागिता थियो।


    अभिमुखीकरणका क्रममा परियोजनाअन्तर्गत व्यावसायिक विकासका लागि सहयोग प्राप्त गरिरहेका युवा उद्यमीहरूले आफ्ना व्यवसायको प्रगति, उपलब्धि, सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती तथा आगामी दिनमा व्यवसाय विस्तार गर्ने योजनाबारे प्रस्तुति दिएका थिए। युवा उद्यमीका अनुभव र समस्याबारे छलफल गर्दै व्यवसायलाई दिगो र व्यवस्थित बनाउने उपायबारे समेत विचार आदानप्रदान गरिएको थियो।
    सोही क्रममा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको थियो। अवलोकन टोलीले बंगुरपालन, स्थानीय कुखुरापालन, बाख्रापालन, किराना पसल तथा खाजा व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यवसायको अवस्था, उपलब्धि, चुनौती र विस्तारका सम्भावनाबारे जानकारी लिएको थियो।


    स्थलगत अवलोकनका क्रममा व्यवसायको प्रकृतिअनुसार पशुपालन व्यवस्थापन, पशुको स्वास्थ्य, दाना तथा आहार व्यवस्थापन, रोगको रोकथाम, मौज्दात व्यवस्थापन, ग्राहक सेवा, उत्पादनको गुणस्तर, सरसफाइ, बजार प्रवर्द्धन तथा आर्थिक कारोबारको अभिलेख राख्ने विषयमा छलफल गरिएको थियो।
    युवा उद्यमीले सञ्चालन गरिरहेका व्यवसायको वास्तविक अवस्था पहिचान गर्नुका साथै उनीहरूलाई आवश्यक पर्ने प्राविधिक सहयोग, व्यवस्थापकीय सीप र व्यवसाय विस्तारका सम्भावनाबारे बुझ्ने अवसरका रूपमा स्थलगत अवलोकनलाई लिइएको थियो। यसबाट परियोजनाका गतिविधिलाई उद्यमीको वास्तविक आवश्यकता र अनुभवसँग जोडेर आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


    अभिमुखीकरण तथा स्थलगत अवलोकनले कर्मचारीको ज्ञान, सीप र संस्थागत मापदण्डसम्बन्धी बुझाइ अभिवृद्धि गर्नुका साथै परियोजना कार्यान्वयनको गुणस्तर सुधार गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ। साथै, संस्थागत जवाफदेहिता, प्रभावकारी साझेदारी र युवा उद्यमीलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
    बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना–२ ले युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन, जीविकोपार्जनका अवसर विस्तार तथा दिगो र समावेशी भविष्य निर्माणका लागि काम गर्दै आएको छ। युवालाई सीप, अवसर र आवश्यक सहयोग उपलब्ध गराउँदै आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • २५ आश्विन २०८३, आईतवार १६:२७ प्रकाशित

  • Nabintech