बाँके ,२७ असोज ।
विजयादशमी नजिकिएसँगै बाँके र बर्दियाका मूर्तिकारलाई यतिबेला भ्याइनभ्याई छ। माटोलाई विभिन्न देवीदेवताको आकर्षक स्वरूपमा ढाल्दै कलाकारहरू दुर्गा भवानीलगायत देवीदेवताका मूर्ति बनाउन दिनरात खटिरहेका छन्। दशैँको चहलपहल बढेसँगै मूर्तिको माग बढेपछि उनीहरूलाई अर्डरअनुसारका मूर्ति तयार गर्न चटारो परेको हो।
वर्षौँदेखि चल्दै आएको परम्परागत कला र सीपलाई व्यवसायका रूपमा अघि बढाएका मूर्तिकारका लागि दशैँ आम्दानीको मुख्य अवसरसमेत हो। तर, मूर्ति बनाउन आवश्यक माटो तथा सजावटका सामग्री सहज रूपमा उपलब्ध नहुँदा उनीहरूले विभिन्न समस्या झेल्नुपरेको छ। कतिपय सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले खरिद प्रक्रिया झन्झटिलो हुनुका साथै उत्पादन लागतसमेत बढ्ने गरेको कलाकारहरूको गुनासो छ।
दशैँमा देवी दुर्गाको पूजा आराधना गर्न विभिन्न स्थानमा माटाका मूर्ति स्थापना गर्ने चलन छ। विशेषगरी तराई क्षेत्रमा घटस्थापनाका दिन देवीको मूर्ति स्थापना गरी विधिपूर्वक पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। यही परम्पराका कारण दशैँ नजिकिएसँगै नेपालगञ्ज र गुलरियालगायतका बजारमा माटाका मूर्तिको माग बढ्ने गरेको छ।
मूर्तिकार शिवकुमार राठोरलगायतका कलाकार अहिले देवीदेवताका मूर्ति निर्माण गर्न व्यस्त छन्। माटो संकलनदेखि मूर्तिको आकार दिने, सुकाउने, रङरोगन गर्ने र सजावट गर्ने काममा उनीहरूको समय बितिरहेको छ। ग्राहकको मागअनुसार मूर्तिलाई आकर्षक स्वरूप दिनुपर्ने भएकाले यस काममा मेहनत, धैर्य र सीप आवश्यक पर्ने कलाकारहरू बताउँछन्।
बर्दियाको गुलरियामा करिब एक दशकदेखि मूर्ति बनाउँदै आउनुभएकी सुष्मा चौधरीले आफूले तयार गरेका मूर्ति स्थानीय बजारसँगै बाँकेलगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको बताउनुहुन्छ। उहाँका अनुसार दशैँका बेला मूर्तिको माग बढ्ने भएकाले यो समय मूर्तिकारका लागि काम र आम्दानीको महत्त्वपूर्ण अवसर हो। तर, आवश्यक सामग्री समयमै उपलब्ध नहुँदा मूर्ति निर्माण र बिक्री व्यवस्थापनमा चुनौती थपिने गरेको छ।
केही वर्षअघिसम्म भारतीय बजारबाट नेपालमा माटाका मूर्ति ल्याउने प्रचलन रहे पनि अहिले नेपालगञ्ज र गुलरियालगायतका क्षेत्रमा स्थानीय कलाकारले नै मूर्ति निर्माण गर्न थालेका छन्। यसले स्थानीय सीपको उपयोग र संरक्षण हुनुका साथै मूर्ति खरिदका लागि बाहिरिने रकमसमेत स्थानीय बजारमै रहने वातावरण बनेको छ।
स्थानीय स्तरमै मूर्ति निर्माण हुन थालेपछि कलाकारले आफ्नो परम्परागत सीपलाई निरन्तरता दिने अवसर पाएका छन्। साथै, दशैँका बेला मूर्ति निर्माण र बिक्रीबाट आम्दानी गर्ने तथा अन्य व्यक्तिलाई समेत रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना बढेको छ। स्थानीय मूर्तिकार विष्णु पौडेललगायतका कलाकारले पनि यस व्यवसायलाई व्यवस्थित र दिगो बनाउन आवश्यक सामग्रीको सहज उपलब्धता तथा बजार विस्तारमा सहयोग आवश्यक रहेको औँल्याउँदै आउनुभएको छ।
माटाका मूर्ति निर्माण केवल आम्दानीको माध्यम मात्र नभई धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपसँग पनि जोडिएको छ। तर, कच्चा पदार्थको अभाव, सजावटका सामग्रीमा परनिर्भरता र उत्पादन लागत वृद्धिजस्ता समस्याले यस पेसालाई चुनौती दिइरहेका छन्।
परम्परागत कला र सीपको संरक्षण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकारले मूर्तिकारलाई आवश्यक कच्चा पदार्थको व्यवस्थापन, सीप विकास, बजार प्रवर्द्धन तथा व्यवसाय सञ्चालनमा सहजीकरण गर्न सके यस पेसालाई थप व्यवस्थित बनाउन सकिने देखिन्छ। यसले एकातिर स्थानीय कलाकारको रोजगारी र आम्दानी बढाउन सहयोग पुर्याउनेछ भने अर्कोतर्फ धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको माटाका मूर्ति निर्माण कलालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नसमेत मद्दत पुग्नेछ।









