मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउन जोड

  • नमस्ते कर्णाली

  • बर्दिया, २५ असोज।
    मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहको नेतृत्व, सरोकारवाला निकायबीचको समन्वय र समुदायस्तरको सक्रियता बढाउनुपर्नेमा जोड दिइएको छ। बर्दियाको मधुवन नगरपालिकामा आयोजित स्थानीय मानव बेचबिखन नियन्त्रण समितिको बैठकमा सहभागीहरूले मानव बेचबिखनका जोखिम पहिचान गरी रोकथामका प्रयासलाई प्रभावकारी बनाउन संयुक्त पहल आवश्यक रहेको बताएका हुन्।
    मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न स्थानीय मानव बेचबिखन नियन्त्रण समिति (एलसीसीएचटी) को बैठकमा मानव बेचबिखनविरुद्ध भइरहेका गतिविधिको प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनालाई थप प्रभावकारी र नतिजामुखी बनाउने विषयमा छलफल गरिएको थियो। बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजनाको सहकार्यमा बैठक आयोजना गरिएको हो।


    बैठकमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.क. र गोविन्दप्रसाद लामिछानेले सुरक्षा परियोजना तथा सेफ फ्युचर परियोजनाअन्तर्गत सञ्चालन भइरहेका गतिविधि, हालसम्मको प्रगति र मानव बेचबिखन रोकथामका लागि गरिएका प्रयासबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले समुदायस्तरमा सचेतना अभिवृद्धि, जोखिममा रहेका समुदायसँग सहकार्य, समुदाय–प्रहरी साझेदारी, युवा दूत परिचालन, बाल संरक्षण प्रवर्द्धन तथा स्थानीय समितिको कार्ययोजना कार्यान्वयनमा भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
    बैठकमा समितिको कार्ययोजनाको प्रगति समीक्षा, समुदाय–प्रहरी साझेदारीमार्फत मानव बेचबिखनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन, सूचना केन्द्रहरूको नियमित अनुगमन तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने बेचबिखनका जोखिम पहिचान र न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले मानव बेचबिखन नियन्त्रण कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, सुरक्षा निकाय, समुदाय, सरोकारवाला समिति र विकास साझेदारहरूको साझा दायित्व भएकोमा जोड दिएका थिए।
    मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले मानव बेचबिखनसँगै लागुऔषध दुर्व्यसन पनि समाजको जटिल समस्याका रूपमा देखा परेको उल्लेख गर्दै दुवै समस्याको नियन्त्रणका लागि सबै सरोकारवाला गम्भीर र सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले समुदायस्तरमा प्रभावकारी निगरानी समूह गठन गरी परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै मानव बेचबिखन तथा लागुऔषध कारोबारमा संलग्न मुख्य सञ्जाललाई नै तोड्ने गरी समन्वयात्मक र परिणाममुखी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।


    स्थानीय सरकार, सुरक्षा निकाय, समुदाय तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य र सूचना आदानप्रदान प्रभावकारी बनाउन सके सामाजिक विकृति नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो।
    बैठकमा कार्यक्रम सञ्चालन र सहभागितामा मात्र सीमित नभई कार्ययोजनाअनुसार भएका गतिविधिले समुदायमा पारेको प्रभावको समेत नियमित अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। विशेषगरी जोखिममा रहेका बालबालिका तथा व्यक्तिसम्म आवश्यक सूचना पुगे–नपुगेको अवस्था, सूचना केन्द्रहरूको प्रभावकारिता र सीमावर्ती समुदायमा देखिन सक्ने जोखिमको पहिचानलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
    त्यसैगरी, स्थानीयस्तरमा प्राप्त सूचना तथा सम्भावित जोखिमलाई समयमै सम्बन्धित निकायसम्म पुर्‍याउने, सचेतनामूलक अभियानलाई निरन्तरता दिने र सरोकारवाला निकायबीच सूचना आदानप्रदान तथा संयुक्त अनुगमनलाई सुदृढ गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।
    बैठकको समापन गर्दै उपप्रमुख तथा समितिकी अध्यक्ष अनिता चौधरीले मानव बेचबिखन रोकथामका लागि सबै सरोकारवालाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय सरकार, समिति, सुरक्षा निकाय, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै रोकथामका प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।


    बैठकले समितिको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने, सूचना केन्द्र तथा सीमावर्ती समुदायको संयुक्त अनुगमनलाई प्राथमिकता दिने र मानव बेचबिखनसम्बन्धी जोखिम पहिचान तथा सम्बोधनमा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
    बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, समितिका सदस्य सचिव इन्द्रा चुनारा, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सैलेन्द्र खड्का, माइती नेपाल, साना हात तथा बाँके युनेस्को क्लबका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो। बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर सावित्रा भाटलगायतको पनि उपस्थिति थियो।


    प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको सुरक्षा परियोजनाले बालबालिका, परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारको क्षमता सुदृढ गर्दै मानव बेचबिखन रोकथाम र बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउँदै आएको छ।

  • २८ आश्विन २०८३, बुधबार १३:५५ प्रकाशित

  • Nabintech