राजापुरका विपन्न परिवारका ६ बालबालिकालाई एक लाख बराबरको सहयोग

  • नमस्ते कर्णाली

  • बाँके, २९असोज 
    बाँके युनेस्को क्लब (बीयूसी) ले अति विपन्न चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ।
    प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजना (सुरक्षा प्रोजेक्ट) अन्तर्गत राजापुर नगरपालिका वडा नं. २, ३, ५ र ८ का आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका बालबालिकालाई उक्त सहयोग उपलब्ध गराइएको हो।


    आर्थिक अभावका कारण बालबालिकाको शिक्षा, सिकाइ र दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ। सहयोगले बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, नियमित विद्यालय उपस्थित हुन तथा पठनपाठनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
    सहयोग सामग्री राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित परिवारका बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बीके, वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको सहभागिता रहेको थियो।
    सामग्री हस्तान्तरणका क्रममा नगर प्रमुख थारूले बालबालिकालाई नियमित रूपमा विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएकाले अध्ययनलाई निरन्तरता दिँदै शैक्षिक प्रगतिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
    शैक्षिक सामग्रीको अभावले बालबालिकाको सिकाइमा अवरोध नआओस् भन्ने उद्देश्यले गरिएको सहयोगले उनीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। त्यसैगरी, खाद्यान्न तथा लत्ताकपडाको सहयोगले विपन्न परिवारको दैनिक आवश्यकतामा समेत केही राहत पुग्ने अपेक्षा गरिएको छ।


    हरेक बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवनयापन गर्ने अवसर पाउनुपर्ने मान्यताका साथ सहयोग कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ। आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिकाको शिक्षा, संरक्षण र समग्र विकासमा अवरोध आउन नदिन स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्य आवश्यक रहेको क्लबको भनाइ छ।
    बालबालिकाका आधारभूत आवश्यकता सम्बोधन गर्दै उनीहरूको शिक्षामा निरन्तर पहुँच, संरक्षण र उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले यस्ता सहयोगका कार्यक्रमलाई महत्त्व दिइएको क्लबले जनाएको छ।

  • २९ आश्विन २०८३, बिहीबार १३:४० प्रकाशित

  • Nabintech