बालविवाह र लागुऔषध नियन्त्रणमा धार्मिक तथा सामुदायिक अगुवा सक्रिय हुने

  • नमस्ते कर्णाली

  • बर्दिया, २९ असोज ।
    बर्दियाको ठाकुरबाबा नगरपालिकामा बालविवाह न्यूनीकरण तथा लागुऔषध दुरुपयोग नियन्त्रणका लागि धार्मिक तथा सामुदायिक अगुवाहरूले समुदायस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँग आयोजित बैठक तथा छलफलमा सहभागीहरूले बालविवाह र लागुऔषध दुरुपयोग नियन्त्रणका लागि सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
    छलफलका क्रममा बालविवाहलाई हानिकारक सामाजिक अभ्यासका रूपमा उल्लेख गर्दै यसको अन्त्यका लागि समाजमा विद्यमान नकारात्मक मूल्य, मान्यता, परम्परा र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको थियो। धार्मिक तथा सामुदायिक अगुवाहरूले समुदायमा प्रभाव पार्न सक्ने भएकाले उनीहरूको सक्रियताले बालविवाह रोकथाम र सामाजिक सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सहभागीहरूको धारणा थियो।


    बैठकमा धार्मिक सञ्जालका अगुवाहरूले कानुनले तोकेको विवाहयोग्य उमेर पूरा नगरेका बालबालिकाको विवाहमा पुरोहितका रूपमा धार्मिक विधि तथा संस्कार सम्पन्न नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, बालविवाहको जोखिम पहिचान गर्ने, अभिभावक तथा समुदायका सदस्यलाई सचेत गराउने र बालविवाहलाई प्रोत्साहन गर्ने सामाजिक अभ्यासको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ।
    बालविवाह रोकथामका लागि वडा कार्यालय, महिला तथा बालबालिका शाखा, विद्यालय, शिक्षक, बाल क्लब, प्रहरी, बाल अधिकार समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल गरिएको थियो। बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्दै उनीहरूको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
    बैठकमा बालबालिका तथा किशोरकिशोरीमा बढ्दो लागुऔषध प्रयोग र दुरुपयोगको जोखिम न्यूनीकरण गर्ने विषयले पनि प्राथमिकता पाएको थियो। धार्मिक सभा, प्रवचन, सामुदायिक भेला, विद्यालय तथा युवा समूहहरूमार्फत लागुऔषधका स्वास्थ्य, सामाजिक, पारिवारिक र शैक्षिक असरबारे जनचेतना फैलाउने विषयमा छलफल भएको थियो।


    त्यसैगरी, अभिभावकलाई आफ्ना बालबालिका तथा किशोरकिशोरीसँग नियमित संवाद गर्न प्रेरित गर्ने र युवालाई खेलकुद, सांस्कृतिक कार्यक्रम, सीप विकास तथा सकारात्मक सामाजिक गतिविधिमा सहभागी गराउने विषयमा जोड दिइएको थियो। लागुऔषधको जोखिममा रहेका बालबालिका तथा युवालाई दोषारोपण वा भेदभाव नगरी आवश्यक परामर्श, स्वास्थ्य सेवा र पुनःस्थापनामा पहुँच पुर्‍याउन सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत सहमति भएको थियो।
    कार्यक्रमको सहजीकरण गर्दै सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले ठाकुरबाबा नगरपालिकामा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणका लागि किशोरकिशोरी, अभिभावक र समुदायका सदस्यलाई लक्षित गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।
    उहाँले धार्मिक गुरु, बरघर, बुद्धिजीवी तथा अन्य सामाजिक अगुवालाई परिचालन गरी सरोकारवाला निकायबीच एकता, समन्वय र सहकार्य कायम गर्नुपर्नेमा जोड दिनुभयो। उमेर नपुगी हुने विवाहमा धार्मिक विधि सम्पन्न नगर्ने प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै समुदायमा रहेका हानिकारक सामाजिक अभ्यास परिवर्तन गर्न धार्मिक अगुवाहरूले अग्रसरता लिनुपर्ने उहाँको भनाइ थियो।
    ठाकुरबाबा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले बालविवाह न्यूनीकरणका लागि धार्मिक सञ्जालसँग समन्वय र सहकार्य गर्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले धार्मिक अगुवाहरूलाई समुदायमा जनचेतना फैलाउन, अभिभावकलाई सचेत गराउन र बालविवाह रोकथामका अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।


    स्थानीय सरकारले बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा मानव बेचबिखन रोकथामजस्ता विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आचार्यले बालबालिकासँग सम्बन्धित घटना तथा जोखिम व्यवस्थापनका लागि स्थानीय सरकार, बाल अधिकार समिति, प्रहरी, युवा समूह र सहयोगी संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
    बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले समुदायमा विद्यमान नकारात्मक सामाजिक अभ्यास न्यूनीकरण गर्न अभिभावक तथा समुदायका सदस्य स्वयं जिम्मेवार र सक्रिय हुनुपर्ने बताउनुभयो। बालविवाह रोकथाम संस्थागत प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै उहाँले परिवार, अभिभावक, धार्मिक अगुवा र समुदायका सबै सदस्यले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
    क्लबका तालिम सहजकर्ता विनय दिल लामाले समुदायमा बालविवाहका विभिन्न अप्रत्यक्ष स्वरूपसमेत देखिने गरेको बताउनुभयो। कतिपय अवस्थामा काममा सहयोग गर्ने बहानामा केटा वा केटी एकअर्काको घरपरिवारमा जाने र दुवै परिवारको सहमतिमा उमेर नपुगी विवाह हुने अवस्था सिर्जना हुने गरेको उहाँले उल्लेख गर्नुभयो।
    यस्ता अभ्यासलाई सामान्य सामाजिक व्यवहारका रूपमा स्वीकार गर्ने प्रवृत्तिले बालविवाह रोकथाममा चुनौती थप्ने भएकाले समुदायका अगुवा, अभिभावक र धार्मिक सञ्जालले जोखिम पहिचान गरी समयमै रोकथामका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो। बालविवाहसम्बन्धी सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउन निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।


    धार्मिक तथा सामुदायिक अगुवाहरूको नेतृत्वमा सञ्चालन हुने जनचेतनामूलक अभियानले बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा बालबालिकाको अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय तह, समुदाय र सरोकारवाला संस्थाबीचको सहकार्यले किशोरकिशोरीका लागि सुरक्षित तथा सकारात्मक वातावरण निर्माण गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

  • २९ आश्विन २०८३, बिहीबार १७:३१ प्रकाशित

  • Nabintech